संसारकै होची महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी महिलाको ३३ वर्षको उमेरमै निधन
काठमाडौं। संसारकै सबैभन्दा होची महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी महिलाको ३३ वर्षको उमेरमै निधन भएको छ । टर्कीको उस्मानिया प्रान्तको कादिरली शहरकी एलिफ कोकामनले विश्वकै सबैभन्दा होची महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी थिइन् । डेली मिररका अनुसार २०१० मा पूरै एक वर्ष एलिफको नाम सबैभन्दा होची महिलाको रुपमा गिनिज बुकको रेकर्डमा रह्यो । त्यसपछि भने उनको रेकर्ड तोडियो ।
मंगलबार एलिफ अचानक बिरामी भएकी थिइन् । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । स्थानीय मिडियाका अनुसार एलिफका धेरै अंगले काम गर्न छाडिसकेका थिए । अस्पतालमा भर्ना भएपछि उनको स्थिति बिग्रिँदै गयो र बिहीबार उनको मृत्यु भयो । एलिफको उचाइ ७२.६ सेन्टिमिटर थियो । गिनिज बुकमा नाम दर्ता भएपछि उनले भनेकी थिइन् ‘मलाई आशा थियो कि कुनै दिन विश्वले मलाई चिन्नेछ । सानामा उचाइका कारण मलाई स्कुलमा सताइन्थ्यो तर यही कारण मैले अलग पहिचान पाएँ । मलाई मेरो उचाइमा गर्व छ ।’
२०११ मा एलिफको रेकर्ड तोडिएको थियो । उनको रेकर्ड अमेरिकाकी ब्रिजेट जोर्डनले तोडेकी थिइन् । जोर्डनको उचाइ ६९ सेन्टिमिटर थियो । जोर्डनको २०१९ मा मृत्यु भयो । अहिले यो रेकर्ड भारतकी ज्योति किसानजी आमगेको नाममा छ । ज्योतिको उचाइ केवल ६२.८ सेन्टिमिटर छ ।







डिसी नेपाल







Facebook Comment