भारतको लाल किल्ला आफ्नो दावी गर्दै मुगल साम्रान्यकी ‘उत्तराधिकारी’द्वारा अदालतमा मुद्दा
काठमाडौं। एउटी अत्यन्तै गरिब भारतीय महिलाले आफू मुगल साम्राज्यकी उत्तराधिकारी भएको दावी गर्दै भारतको लाल किल्ला दरबारको स्वामित्व आफूले पाउनुपर्ने माग गरेकी छिन् । इतिहासमा मुगल सम्राटको राजदरबार रहेको लाल किल्ला आफूले पाउनुपर्ने माग गर्दै सुल्ताना बेगमले भारत सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेकी हुन् । सुल्ताना अहिले कोलकाताको एक झुपटीबस्तीमा सानो दुई कोठे झुपडीमा बस्छिन् र सामान्य पेन्सनले जीविका चलाउँछिन् ।
सुल्तानाले आफू मुगल साम्राज्यकी उत्तराधिकारी भएको दावी गर्न पेश गरिएका कागजातमा उनले मिर्जा मोहम्मद बेदार बख्तसँग विवाह गरेको रेकर्ड पनि छ । बख्त भारतका अन्तिम मुगल राजाका पनाती भएको मानिन्छ । बख्तको १९८० मा मृत्यु भएपछि सुल्ताना बाँच्नको लागि संघर्ष गरिरहेकी छिन् । पछिल्लो १० वर्ष सुल्तानाले आफ्नो शाही हैसियतलाई पहिचान दिन र सोहीअनुसार आफूलाई हर्जाना दिन सरकारी अधिकारीहरुलाई निवेदन दिएरै बिताएकी छिन् ।

‘के तपाइँ कल्पना गर्नुहुन्छ ती सम्राटकी उत्तराधिकारी जसले ताजमहल बनाए आज चरम गरिबीमा बाँचिरहेकी छिन् ?’ ६८ वर्षकी सुल्तानाले प्रश्न गरिन् । अल जजीराका अनुसार बेगमले आफू नै १७ औं शताब्दीमा बनेको ऐतिहासिक लाल किल्लाको वास्तविक मालिक भएको प्रमाणित गरिदिन माग गर्दै अदालतमा मुद्दा दायर गरेकी छिन् । लाल किल्ला नयाँ दिल्लीमा रहेको भव्य किल्ला हो जुन कुनै समय मुगल साम्राज्यको शक्तिकेन्द्र थियो ।
‘मलाई आशा छ सरकारले निश्चय नै मलाई न्याय दिनेछ’ उनले भनिन् ‘यदि कुनै चीजमाथि कसैको स्वामित्व हुन्छ भने त्यो फिर्ता गरिनुपर्छ ।’ उनको केसलाई केही अभियन्ताहरुले पनि समर्थन गरेका छन् । उनले आफ्ना पतिको वंशावली अन्तिम मुगल सम्राट बहादुर शाह जफारसम्म पुग्ने दावी गरेकी छिन् र उनको केस यसैमा आधारित छ । जफारको शासनकालमा भारतमा व्यापार गर्न भन्दै आएको इष्ट इण्डिया कम्पनीले आफ्नो कब्जा विस्तार गर्दै जाँदा मुगल साम्राज्य दिल्लीमा मात्र खुम्चिएको थियो ।

त्यसको एक महिनाभित्र बेलायती सेनाले दिल्लीलाई घेरा हालेर यो ऐतिहासिक किल्लामा कब्जा गरेको थियो । ब्रिटिस सेनाले जफारका जीवित १० जना छोरा सबैको हत्या गरेको थियो जबकि त्यतिबेला जफारको शाही परिवारले आत्मसमर्पण गरिसकेका थिए । जफार स्वयं छिमेकी देश म्यानमारमा निर्वासित भएका थिए । गोरुगाडामा चढेर म्यानमार गएका जफार ५ वर्षपछि त्यहीँ चरम गरिबीमा मरेका थिए ।
यो भव्य लाल किल्लाका धेरै भाग त्यसपछिका वर्षहरुमा भत्काइए । पछि अधिकारीहरुले यो भवन मर्मत गर्न आदेश दिएपछि यसलाई २० औं शताब्दीमा जीर्णोद्धार गरिएको थियो । अहिले यसलाई ब्रिटिश साम्राज्यबाट स्वतन्त्रताको प्रतीक मानिन्छ । १९४७ को अगष्टमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले बेलायती राजबाट स्वतन्त्रता पाएको घोषणाको रुपमा यही लाल किल्लामा भारतको राष्ट्रिय झण्डा फहराएका थिए । त्यसयता हरेक वर्ष नेहरुका उत्तराधिकारी प्रधानमन्त्रीहरुले यही परम्परा पच्छ्याउँदै आएका छन् ।

बेगमले अदालतमा दर्ता गराएको केसमा भारत सरकारले उनको सम्पत्तिमा गैरकानुनी रुपमा कब्जा गरेको दावी गरिएको छ र उनले लाल किल्ला आफूलाई हस्तान्तरण गरिनुपर्ने माग गरेकी छिन् । दिल्ली हाइकोर्टले गत हप्ता उनको याचिकालाई ‘समयको बर्बादी’ भन्दै अस्वीकार गरेको थियो तर उनको मुगल साम्राज्यको उत्तराधिकारको दावी वैध छ वा छैन भन्ने विषयमा केही आदेश दिएको छैन ।
अदालतले सुल्तानाको कानुनी टिमले जफारका उत्तराधिकारीले उनको निर्वासनपछि १५० वर्षसम्म यस्तै केस पहिले किन गरेनन् भन्ने कुराको चित्तबुझ्दो जवाफ दिन नसकेको बताएको छ । तर, सुल्तानाका वकिल विवेक मोरेले यो केसले निरन्तरता पाउने बताएका छन् । ‘उनले यो आदेशलाई चुनौती दिँदै अदालतको माथिल्लो बेन्चमा अर्को याचिका दायर गर्ने निर्णय गरेकी छिन्’ मोरेले भने ।







डिसी नेपाल







Facebook Comment