माइतीघर मण्डलामा अनशनरत टीकाप्रसाद अधिकारी भन्छन्– सत्य नडगोस्, असत्य नटिकोस्

डिसी नेपाल
१९ पुष २०७८ १३:१७
68
Shares

काठमाडौं। काठमाडौंको माइतीघर मण्डला, जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन भेला, सभा, र्‍याली, प्रदर्शन, अनशन बस्ने जस्ता कार्यक्रम हुनेगर्छ। तर, पछिल्लो एकसातादेखि आफूलाई कानुनसम्मत अंश दिलाइदिन माग गर्दै टीकाप्रसाद अधिकारी व्यक्तिगत माग राखेर अनशन बसिरहेका छन्।

चितवनको भरतपुर महानगरपालिका ११ का अधिकारी आफूलाई भाइअंश दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा एक सातादेखि अनशन बसेका हुन् । कानुनी लडाइँबाट थाकेपछि आफू अनशन बस्नुपरेको उनी बताउँछन्।

पाँच दाजुभाइमध्ये दुईजनाले पैतृक सम्पत्ति अंशबण्डा नगरी जालसाजी गरेर लिएपछि उनी कानुनी बाटोमार्फत अंश माग गरेका थिए । अंशका लागि कानुनी लडाइँमा कमाएको पैसा सकिएपछि उनी अनशनमार्फत न्याय खोजेको अधिकारी बताउँछन्।

‘दाजु दिनेशप्रसाद अधिकारीसहितले अंश नदिएपछि कानुनी संघर्ष गरेँ । तर, अंश पाउन सकिन । न्याय पाउन मुद्दा लड्दालड्दै भएका सम्पत्ति र कमाइ पनि सकियो,’ उनी भन्छन्, ‘यसपछि बाध्य भएर यहाँ (माइतीघर मण्डला)मा आएर अनशन बस्नुपरेको छ ।’

अंश नपाउँदा दुःखी बनेका उनलाई अझ न्यायालयमा तारेखमा धाउँदा धाउँदा नपाएको न्यायले झनै मन पोलेको बताउँछन् । उनले न्याय सम्पादनको शैली परिवर्तन नभए न्याय पाउन गाह्रो रहेको बताए ।

‘कानुनको क्षेत्रमा ब्यापक सुधार हुनुपर्ने देखेँ । सधै तारिखैतारिख बोकाउने अदालतीशैली फेरियोस्,’ उनले भने, नत्र हामीलेजस्ताले न्याय पाउने आशै नगरे हुन्छ ।’
गरिबका लागि न्याय महंगो र जटिल बनेको उनको अनुभव छ । यसैले अहिले अनशनमार्फत आफ्नो अधिकार खोज्न माइतीघरमा बसेको उनी भन्छन् । आफूले अंश पाउनुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘सत्य नडगोस्, असत्य नटिकोस् ।’

आफूले कानुनसम्मत पाउनुपर्ने अशं नपाएसम्म अब अनशन बसिरहने बताएका टीकाप्रसाद अधिकारीले आफ्नो न्यायको लडाइँमा सहयोग गर्न सबैमा आग्रह पनि गरे ।
न्युज कारखाना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *