प्रधानमन्त्री रोजगारमा अनियमितताको आशंकामा अख्तियारद्वारा सबै बिल भर्पाइ नियन्त्रणमा

डिसी नेपाल
२१ पुष २०७८ १२:१७

उदयपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले बेलका नगरपालिकामा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमको कागजपत्र नियन्त्रणका लिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेलका नगरपालिकामा संचालित योजनाहरुमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै अख्तियारले छानविनका लागि कार्यक्रमसँग सम्बन्धि कागजात नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सुचिकृत भएका बेलका नगरपालिका वडा नम्बर ४ नम्बरमा मजदुरको नाममा किर्ते विल भपाई तथा भुक्तानी देखाएर अनियमितता गरेको समाचार सार्वजनिक भएपनि अख्तियारले चासो देखाएको हो।

आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका–४ मा तीन वटा योजनाका निम्ति कुल १९ लाख ६४ हजार ६ सय रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये १३ लाख २० हजार ६ सय ५३ रुपैया भुक्तानी भएपनि किर्ते बिल भर्पाई बनाएर पेश गरिएको पीडितहरुले आरोप लगाएका छन् । डोर हाजिरी किर्ते बनाउनका साथै कुमारी बैकमा खाता खोली चेकमा समेत किर्ते हस्ताक्षर गरि रकम अनियमितता गरेको उनीहरुको भनाइ छ।

नगरपालिकाले तिमिहरुको नाममा पैसा लिएको रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाईन्छ भन्दै नागरिकता लिएर गएको स्थानिय रचनाकुमारी नेपाली सार्कीले बताइन। ‘म बैंकमा खाता खोल्न पनि गएको छैन, चेकमा हस्ताक्षर पनि गरेको छैन’ उनले भनिन् ।

तर, उनको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेवापत दैनिक ५१७ रुपैयाँका दरले ३६ हजार ७६८ रुपैयाँ भुक्तानी भएको देखिन्छ। उनलाई नगरपालिका आउँजाउ गरेको भनेर ५ सय रुपैया मात्र दिएको बताइन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वडा नम्बर–४ मा गर्भे सडक हुदैं दमही कल्र्भट निर्माण योजनामा १ लाख ३ हजार ८ सय ५० रुपैयाँ, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला– ६ जोडने सडक निर्माण योजना ६ लाख ९८ हजार ६ सय ७४ रुपैया र ठोक्सिला कटारी खानेपानी योजना ४ लाख ४१ हजार २ सय २२ रुपैयाँ गरि १३ लाख ६४ हजार ६ सय रुपैयाको तीन वटा योजनाका ३८ जना मजदुरको नाममा किर्ते डोर हाजिर देखि बिल भर्पाई समेत किर्ते बनाएको आशंका गरिएको छ।

ठोक्सिला कटारी खानेपानी योजनाका अध्यक्ष सन्तोष आचार्य, सुन्दरनगरी डाँडाटोल हुँदै बबला– ६ जोड्ने सडक योजना उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद लुईटेल लगायत नगरपालिकाको कर्मचारीको मिलेमतोमा सर्वसाधारणको नाममा रकम निकासा गरि उनीहरुको बैक चेकमा किर्ते हस्ताक्षरण गरि कुमारी बैंकबाट पैसा निकालेकाे पिडित रचनाकुमारी नेपालीले बताइन् ।

आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिए।

काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६ सय रकम विनियोजन भएता पनि १३ लाख २० हजार ६ सय ५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिइन् ।

बेलका नगरपालिका– ४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ। नगरपालिकामा पेश गरिएको डोर हाजिरमा उल्लेखित मजदुरहरुले भने प्रधानमन्त्री रोजगार कार्यक्रमको काम आफुहरुले एक दिन पनि नगरेको बताएका छन ।

रोजगार कार्यक्रममा नाम निस्केका सबै मजदुरको बैंक खाता खोलाइएको छ । पैसा बैंकमा नै पठाएको देखिन्छ तर, रकम निस्किएको कुनै पनि मजदुरले आफुले काम नगरेको बताएका छन्। किर्ते डोर हाजिरी बनाएर बैंकमा पैसा जम्मा गरेपछि मजदुरको खाता खोलि चेक नै लिएर किर्ते हस्ताक्षरण गरि रकम निकालेको पिडित बिष्णु नेपाली सार्कीले बताइन्।

त्यसैगरी अर्का मजदुर नन्दीकुमारी मगरले भनिन ‘तिम्रो नाममा नगरपालिकाबाट पैसा आएको छ, कुमारी बैंकमा खाता खोल्न भनेर समितिका अध्यक्ष कृष्णप्रसाद लुईटेलले फोटो र नागरिकता लिएर गएको र कागजमा सहि गरेको हो। पछि तपाईले काम गरेको छैनन्। खाता खोले बापत ३ हजार दिनु भनेको छ तर तपाई ५ हजार रुपैयाँ दिन्छु भन्नुभएको छ।’ तर, उनको नामा ८६ दिन काम गरेको ५ सय १७ रुपैयाका दरले १ प्रतिशत कर कठ्ठी गरि ४४ हजार १७ रुपैया भुक्तानी भएको देखिन्छ।

नगरपालिकाको भुक्तानी आदेशमा भने नन्दीकुमारी सहित १६ जनाले सुन्दरनगरी डाँडाटोल हुँदै बबला ६ जोड्ने सडक निर्माण योजनामा ८६ दिन काम गरेको देखिन्छ र कर कट्टी गरेर उनको खातामा ४४ हजार १७ रुपैयाँ जम्मा भएको देखिन्छ। सोही सडक निर्माण योजनामा सिताराम बिष्टले ४ हजार मात्रै पाएका छन् भने एक दिन पनि काम नगरेका कृष्णबहादुर गिरीले २९ हजार पाएका छन्।

त्यसैगरी गभ्रे सडक हुँदै दमहि कल्भर्ट निर्माण योजनाको लागि गंगा मंग्रातीको नाम परेता पनि उनले कामै गरेका छैनन्। रोजगार वापत उनलाई समितिले एक हजार रुपैयाँ बुझाउन घरै आएता पनि उनले रकम बुझिन। तर, बैंक खाताबाट उनको १० हजार २३७ रुपैयाँ झिकिएकोछ। उनले बैंकमा खाता खोलेता पनि समितिका पदाधिकारीले नै चेक बुक राखेर रकम झिकेको बताइन्।

सोही योजनाका मजदुर इन्द्रबहादुर बस्नेतले एक हजार दिएर चेकमा हस्ताक्षर गराएको बताए। उनले २० दिन काम गरेर १० हजार २३७ रुपैया लिएको नगरपालिकाको लेखा शाखाको तथ्यांकमा उल्लेख छ । बस्नेतले भने ‘त्यस बेला मेरो हात भाँचिएको थियो । चेकमा हस्ताक्षर गरायो र एक हजार दियो।’

यस्तै नन्दलाल आचार्य र मनोज आचार्यले जनही ३६ हजार ७६८ रुपैयाँ पाउनु पर्नेमा उनीहरुले नौ हजार पाँच सयको दरले बुझेका छन्। बालकुमार मगर, नारायण कटुवाल, अमृता विक, गोमा खड्का, मोहनप्रसाद आचार्य, नगेन्द्र थापा, थिरबहादुर माझी, मने सार्की, सिताराम बिष्ट, छत्रबहादुर आले मगर, कल्पना सार्की, दलबहादुर सापकोटा, मनोज नेपाली, एकबहादुर निरौला, निरज पुर्कोटी, इन्द्रकुमारी तामाङ, कल्पनाकुमारी सार्की, अम्बु तामाङ लगायतको बैक खाताबाट किर्ते हस्ताक्षर गरी बैकबाट पैसा निकालेको देखिन्छ । बैंक खाता खोलेवापत उनीहरुलाई एक देखि पाँच हजार रुपैयासम्म दिएको पिडितहरुले बताएका छन्।

वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा किर्ते डोर हाजिर बनाएर किर्ते कागजात बनाएर पैसा निकालेको पिडितहरुले बताएपछि आफुले अनुगमनको कागजातमा सहि नगरेको वडा सदस्य टंकप्रसाद अधिकारीले बताए। नगरपालिका कर्मचारी लगायत समितिका सदस्यहरुले अनुगमन गरेको फाइल प्रमाणित गर्न दबाब दिएको छ।

बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले भने गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भएपनि सजायको भागिदार हुने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरुलाई अनिवार्य रुपमा १ सय दिन रोजगारी दिनु पर्ने ब्यवस्था रहेको छ । नगरपालिकाले बेरोजगारहरुलाई छनोट गरि वर्षमा १ सय दिन वडाध्यक्षको प्रत्येक्ष निगरानीमा सिधै रोजगारी दिने ब्यवस्था भएता पनि यहाँ भने उपभोक्ता समिति गठन गरेको पाईएको छ। न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *