वीरगंजमा कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो

डिसी नेपाल
२४ पुष २०७८ १३:०५

काठमाडौं। नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगंजसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ ।भारतसँग खुल्ला सीमा जोडिएका वीरगंजसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयानुसार वीरगंज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको प्रजिअ ढकालले बताए ।केन्द्रका अनुसार स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकताअनुसार सबै स्थानीय तहमा पठाउन थालिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण र जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोधसमेत गरिएको हो । केन्द्रले कोभिडको नयाँ भेरियन्टले महामारीको जोखिम बढाउने भन्दै पूर्वतयारी तथा व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश सरकारको कोभिड कोषबाट मास्क, स्यानिटाइजरलगायत सामग्री खरिद गरी वितरण गर्ने कामसमेत अघि बढाएको छ ।

नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ

पर्साको वीरगंजमा पछिल्लो समय भेटिएको कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ । वीरगंजमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमूना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको वीरगंजस्थित नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा.प्रभाकर पाण्डेले बताए ।

जिल्लाका विभिन्न स्थानमा पछिल्लो पटक गरिएको ऐन्टिजेन परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरुको (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको हो । सङ्क्रमण पुष्टि हुनेहरुमा अधिकाशं ३५ देखि ६० वर्ष उमेर समूहका भारतीय नागरिक रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *