कहिले आउँछ मेलम्चीको पानी फेरि काठमाडौंमा?

रेखा श्रेष्ठ
२६ पुष २०७८ ११:५५

काठमाडौँ। असार १ गते राति आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुननिर्माणको काम सुरु हुन सकेको छैन। बाढीले मेलम्चीको मुहान क्षेत्र तहसनहस बनाएपछि त्यसको पुननिर्माण अनिश्चित बनेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चैत २०, २०७७ मा मेलम्चीको पानी काठमाडौंमा खसालिएको थियो। मेलम्चीको पानी काठमाडौं खसालिएको झण्डै तीन महिनापछि असार १ गते राति आएको भीषण बाढी तथा पहिरोले मेलम्चीको मुहान क्षेतिग्रस्त बनाएपछि मेलम्चीको पानी काठमाडौं कहिले आउँछ भन्ने अनिश्चित बनेको छ।

सरकारले यसै वर्षको चैत मसान्तसम्म अस्थायी रुपमा भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने गरी तयारी गरेको जनाएको छ। सरकारले आयोजनाको हेडवक्र्ससम्म पुग्ने बाटो खोल्ने जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ। मेलम्ची बजारदेखि हेडक्र्ससम्मको २२ मध्ये ८ किलोमिटर सडक पूर्णरुपमा क्षतिग्रस्त भएकाले ट्र्याक खोल्ने जिम्मा सेनालाई दिन लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले २० चैत २०७७ मा मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी थिइन्। चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो।

काठमाडौंमा मेलम्चीको पानी आएको करिव ३ महिनापछि असारमा आएको बाढी तथा पहिरोले मेलम्ची खाने पानी आयोजना क्षति ग्रस्त भएको छ। जसले गर्दा अहिले मेलम्ची खाने पानी आयोजना अवरुद्ध छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमार्फत् आएको बजेटले चैतमा पानी ल्याउने मिति तोकिसकेको छ। तर आयोजनाको मुहान क्षतिग्रस्त हुनाले के-कति क्षति भएको छ निश्चित नभएकोले काठमाडौँमा कहिले सम्म पानी ल्याउन सकिन्छ भन्ने कुरा अहिले निश्चित नभएको मेलम्ची खानेपानी आपूर्ती विकास बोर्डका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

हालसम्म आयोजना निर्माणका लागि ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । जसमा ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एशियाली विकास बैंक र बाँकी अन्य दातृनिकायसँग व्यवस्थापन गरिएको थियो।

आयोजनमा १ अर्ब १२ करोड रुपैयाँ मुआब्जामा मात्रै खर्च भएको थियो। बाढीपहिरोका कारण आयोजनामा क्षति पुगेसँगै मेलम्चीको पानी काठमाडौँ ल्याइपुर्‍याउने समयावधि थप लम्बिने सूचना अधिकारी पन्तले जानकारी दिए ।

मेलम्ची खाने पानी आयोजनामा आएको बाढीपहिरोले के-कति क्षति पुर्याएको छ त्यस सम्बन्धी अध्ययन गरेर त्यसको नियन्त्रण कसरी गर्ने भनेर प्रतिवेदन आए पछि काम आगाडि बढ्ने अधिकारी पन्तले बताए। उनले भने,’अहिले तत्कालै पुननिर्माण भएर मेलम्ची खाने पानी आयोजना सञ्चालनमा आउँदैन ।,’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *