‘खतरा’ मोलेर देउवाले एमसीसी संसदमा पेश गर्लान्?

डिसी नेपाल
२६ पुष २०७८ १४:०९

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध पारेपछि संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार झण्डै एकघण्टा वार्ता गरे। प्रधानमन्त्रीमा नियुक्ती भएको झण्डै ६ महिनापछि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच प्रत्यक्ष भेटवार्ता भएको थियो।

उक्त भेटमा प्रधानमन्त्री देउवाले ओली समक्ष अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए। देउवामाथि एमसीसी संसदबाट पारित गर्नुपर्ने दबाव छ। त्यसका लागि देउवाले एमालेको सहयोग खोजेका छन्।

‘प्रधानमन्त्रीजीले एमसीसी पारित गर्न सहयोगको आग्रह गर्नु भयो,’ ओली निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘तर अध्यक्षले पहिला एमसीसी संसदमा पेश गर्न आग्रह गर्नु भयाे। एसीसीको विषयमा सिंको नभाँची सहयोगको आग्रह गरेर मात्र हुँदैन भन्ने अध्यक्षको जवाफ थियो।’

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एमसीसीलाई संसदबाट पारित गर्न चाहेका थिए। तर त्यो बेला सभामुखले सहयोग नगरेका कारण एमसीसी संसदको कार्यसूचीमा प्रवेश नै गरेन। अहिले एमाले प्रतिपक्षमा छ र प्रधानमन्त्रीका रुपमा देउवामाथि एमसीसी पारित गराउनुपर्ने दबाव छ।

एमसीसीका विषयमा सत्ता गठबन्धनबीच मतैक्यता छैन। विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी विना संशोधन पारित गर्न नहुने पक्षमा छन्।

देउवाले एमसीसीलाई अगाडि बढाउन हिम्मत गरेपनि संसदमा सभामुखले कार्यसूचीमा प्रवेश नगराएर असहयोग गर्ने एमालेको बुझाइ छ। त्यही भएर देउवासँगको भेटमा ओलीले पहिला एमसीसी संसदमा पेश गर्न देउवालाई आग्रह गरेका हुन्।

एमसीसी देउवाले एक्लै अगाडि बढाउँदा सत्ता गठबन्धन टुट्न सक्ने र त्यसमा सभामुखले पनि सहयोग नगर्ने एमालेको बुझाइ छ।

‘संसदमा पेश नै नहुने एमसीसीको विषयमा अहिले नै निर्णय गरेर विवादमा आउनु भन्दा प्रक्रियामा अगाडि बढ्यो भने त्यो विषयमा निर्णय गर्ने भनेर प्रधानमन्त्रीलाई अध्यक्षले जवाफ दिनु भएको हो,’ ओली निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजीले खतरा मोलेर एमसीसी अगाडि बढाउन सक्नुहोला जस्तो हामीलाई लाग्दैन।’

प्रधानमन्त्रीले खतरा मोलेर एमसीसीलाई संसदमा पेश गर्ने र त्यसलाई सभामुखले पनि अगाडि बढाउने अवस्था आए त्यसमा गएमालेको सहयोग हुने संकेत ओलीले देउवालाई गरेका छन्, तर देउवाले खतरा मोल्ने नमोल्ने विषय भने भविष्यले नै देखाउला।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *