कोरोना बिरामीको चाप बढिरहेको छः डा. भूपेन्द्र बस्नेत

डिसी नेपाल
२६ पुष २०७८ २२:४९

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा.बस्नेतले बिरामी बढेकोले आवश्यक तयारी गरेको बताए । उनले भने, ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौ ।’

संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तिव्रता दिएको उनले स्पष्ट पारे । वीर अस्पतलामा उनले वीर अस्पतालमा १ सय वटा आइसीयु, १ सय वटा एचडियु, ३ सय वटामा अक्सिजनको सुविधा र २ वटा अक्सिजन प्लान्ट छ तयारी अवस्थामा राखिएको जानकारी दिए ।

कोभिडको तयारीको बारेमा बिभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उनले वीर अस्पतालको सर्जिकल भवनमा ५ सय बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताए । उनले सबैलाई कोभिडबाट बाँच्न सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि आग्रह गरे ।

कोभिड नियन्त्रणको लागि सरकारले खोप अगाडि बढाएको बताउँदै उनले सबैलाई खोप लगाउन समेत आग्रह गरे । मन्त्रालयको अहिलेको प्राथमिकतामा खोप र बिरामीको उपचार गर्ने भएको पनि बस्नेतले स्पष्ट पारे । कोरोनाको धेरै भेरियन्ट परिवर्तन भइराख्ने हुनाले डेल्टा भन्दा बढी ओमिक्रोन ट्रान्समिसन द्रुत गतिमा भइरहेको उनले बताए ।

जस्ले खोप लगाएका छन् यसको संक्रमण कम र खोप नलगाएकाहरुमा ओमिक्रोनको प्रभाव बढी देखिएको उनले जानकारी दिए । बस्नेतले ६० वर्ष माथिकालाई सबैभन्दा पहिला बुस्टर डोज दिने मन्त्रालयले तयारी गरेको जानकारी दिए । पछिल्लो समयमा सबै अस्पतालले आफ्नो क्षमता अभिवृद्धि गरेर आइसीयु, भेन्टिलेटर संख्या थप गरेको उनको भनाई थियो ।

अब कोरोनाको भयावह अवस्था नआउला भन्दै उनले आफू सचेत हुने र अरुलाई सचेत गराउन आवश्यकता रहेको औंल्याए । हरेक भाइरसको न्युटेशन नर्मल प्रक्रिया हो भन्दै उनले कुनै न्युट्रेसनले सिथिल बनाउँछ भने कुनैले आक्रामक बनाउने बताए । काठमाडौंमा सबै बिरामीलाई धान्न सक्ने अस्पतालको क्षमता बढाएको उनले स्पष्ट पारे । मन्त्रालयले अक्सिजनको अवस्था पहिला भन्दा धेरै राम्रो तयारी रहेको समेत बताए ।

नेपाल सरकारले तोकेको कोभिड–१९ सेन्ट्रल अस्पताल वीर अस्पताल भएको बताए । सरकारले तोकेका उपत्यकामा १३ वटा कोभिड अस्पताल रहेको जानकारी दिँदै उनले प्रदेशमा सातवटा कोभिड अस्पताल रहेको बताए । बिरामीको चाप र आवश्यकताको आधारमा अस्पताल थप भएर जाने समेत उनले बताए ।

ओमिक्रन चाँडो फैलिइरहेछः डा. रमेश आचार्य
भाइरसविज्ञ डा. रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरु पनि सचेत हुनपर्ने बताए ।

ओमिक्रोन भेरियन्ट अहिले संसार भरीमा भेरोसिल्ड खोप भन्दा फाइजर, जोनसोन र मोर्डना खोपमा कम असर देखिएको डाटा उल्लेख गरे । ज–जसले दोस्रो डोज लगाएका सबैले तेस्रो डोज ‘बुस्टर’ लगाउन पर्ने डा.आचार्यले सुझाव दिए ।

अन्य देशमा २ वर्ष देखि ११ वर्ष मुनिका उमेर समुहका धेरै बालबालिकाले खोप लगाएको भन्दै उनले नेपालका बालबालिकाहरुलाई पनि तुरुन्तै खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । ओमिक्रोन र डेल्टा भेरियन्ट मिक्स भएर आएमा अहिले लगाएको खोपले काम नगर्ने उनको भनाई थियो ।

धेरै देशमा ओमिक्रोन भेरियन्टका खोकी लाग्ने, नाकबाट पानी, धेरै ज्वरो र घाँटी दुख्ने जस्ता लक्षणहरु देखिएको पनि जानकारी दिए । पछिल्लो समयमा खोपको कारण बिरामीहरुलाई आइसीयु र भेन्टिलेटरमा जानबाट जोगाएको समेत उनले जिकिर गरे ।

उनले नेपालमा कन्ट्याकट्रेसको राम्रो जाँच नभएको भन्दै उनले भारत र नेपालको बोर्डरमा कडाई नभएको समेत गुनासो गरे । अन्तराष्ट्र्रिय बोर्डरबाट आउने यात्रुहरुलाई १४ दिन निगरानीमा राख्न पर्ने धारणा राखे । मास्क, सामाजिक दुरी कायम, स्यानीटायजरको प्रयोग गरेर भाइरसबाट जोगिन सबैलाई आग्रह गरे । नेपालीहरुले आफ्नो परिवारमा कसैको मृत्यु नभएसम्म रोगसँग नडराउने प्रवृत्ति रहेको पनि सुनाए ।

उनले ओमिक्रोनको नियन्त्रण लकडाउन मात्र नभएको बताए । लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राख्न सकको देश चाइना मात्रै भएको बताउँदै डा.आचार्यले अरु देश लकडाउनमा असफल भएको बताए । ओमिक्रोन डेल्टाभन्दा कम संक्रामक भएको कारण मृत्युदर कम हुने उनको भनाई थियो ।

ओमिक्रोन फैलनमा सरकार र राजनीतिक दलहरुको हात भएको आरोप लगाए । उनले भने,‘ठुला पार्टी सबैले महाधिवेशन गरे, महाधिवेशनकै कारण आज ओमिक्रोन फैलिएको हो । यो फैलनूमा पार्टी पनि जिम्मेवार छन् ।’ महाधिवेशनमा केन्द्रीत सरकारले स्वास्थ्यमा ध्यान नदिएको उनले आरोप लगाए । २ हप्ताअगाडी नै स्मार्ट लकडाउन गर्न पर्ने उनले जोड दिए ।

ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरु नै जिम्मेवार छन्ः डा.सुन्दरमणि दिक्षित
वरिष्ठ चिकित्सक डा।सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो ।

साक्षात्कारमा बोल्दै डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरुलाई महाधिवेशन गर्न दिएकोले कोरोना संक्रमण फैलिएको बताए । उनले भने,‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’ दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको बताए ।

आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेको बताए । कुनै पनि दल र दलका नेताहरुको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोे समेत बताए । सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको बताए ।

आफुले २ वर्ष अगावै रिपोर्टर्स क्लबबाटै कारोना भाइरसको खतराबारे जानकारी दिएको सुनाए । नेपाली जनताले आज बाध्य भएर कोरोना भाइरसको बारेमा जान्न र सुन्न परेको उनले बताए ।

भाइरसलाई भ्रष्टचारीको संज्ञा दिदै उनले भने, ‘भ्रष्टाचारीलाई जतिनै मासियो भनेपनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरुको लापरवाहीले गर्दा नै भाइरस संक्रमण बढेको उनको भनाई थियो ।

भुटानले सबै जनसंख्यालाई २ डोज दिइसक्दा नेपालले बालबालिकाहरुलाई खोप दिन नसकेको बताए । विद्यार्थी, नेता, बन्द कोठामा बस्ने तथा बाहिर हिड्नेहरुले मास्कको प्रयोग नगरेको उनले आरोप लगाए । मास्क लगाएर, कोरोना प्रोटोकल्सको प्रयोग गरेर आफु मात्र नभएर परिवार र सिंगो समुदायलाई बचाउनुपर्ने उनको भनाई थियो ।

खोप नै भाइरसको संक्रमण रोक्ने एक मात्र बुटी भएको भन्दै डा।दिक्षितले सरकारले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘एक महिना भित्र खोप ल्याउन पर्यो । जतिसक्दो चाडो खोप दिइन्छ त्यत्तिनै चाडो संक्रमण बढ्न पाउँदैन ।’
ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उनले बताए ।

सरकारको अहिलेको पहिलो प्राथमिकता बालबालिकाहरुलाई खोपको व्यवस्था गर्ने हो भन्दै उनले ओम्नीकाण्ड, सुनकाण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गरे ।

सचेत नागरिक हुनुको नाताले मास्क राम्रो लगाउने, सामाजिक दुरी कायम गर्ने र बारम्बार स्यानीटाइजरको प्रयोग गर्न सबैलाई आग्रह गरे । दैनिक तथा आफूलाई आशंका लागको दिनमा नाकमा मनतातो पानी हालेर जलनेत्री गर्न समेत उनले आग्रह गरे । कुनै पार्टीको कार्यकर्ता यस्तो अवस्थामा नेताहरुको पछि नलागेर आफ्नो स्वास्थ्यमा ध्यान दिन पर्ने उनले धारणा राखे ।

आफ्नो र हाम्रो खोप भनेको मास्क हो भन्दै उनले सरकारको खोप भ्याक्सिन भएको सुनाए । सरकारले सबै विद्यालयमा गएर बालबालिकाहरुलाई खोप दिन पर्ने उनको भनाई थियो । भाइरसको कुनै पनि औषधी नहुने भन्दै डा।दिक्षितले जनता आफै सचेत हुनुपर्ने बताए । उनले भने, ‘भ्याक्सिन, सामाजिक दुरी, जलनेत्री र जडिबुटी मात्र हाम्रो हतियार हो यसलाई प्रयोग गर्न गर्नुहोस् सरकारले आफ्नो किसिमले काम गर्छ । भाइरसको कुनै पनि औषधी हुँदैन् । हामीसँग जे छ त्यति मात्र गर्ने हो ।’

लकडाउन समस्याको समाधान होइन् भन्दै उनले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गरे । उनले भने, ‘भाइरस जहाँबाट पनि छिर्छ । लकडाउनको कुनै अर्थ छैन् ।’ डेल्टा र ओमिक्रोनको विवाह भईरहेको छ । सबैले आफ्नो बचाउ आफै गर्नुपर्छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *