मकै जोन कार्यक्रमबाट किसान उत्साहित

डिसी नेपाल
३० पुष २०७८ १७:३६

काठमाडौँ। ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ। सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन्। चालु वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो।

यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ।समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई छन्।

जिल्लाको नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजंघा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिनेछ। पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ।

यस्तै, अलैँची जोन कार्यक्रम भने ०७५/७६ देखि नै लागू भएको हो। फुङलिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजंघा गाउँपालिकाका ३९ वडामा यो कार्यक्रम लागू गरिएको छ। अलैँची जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ।

उक्त क्षेत्रमा गरिएको अलैँची खेतीबाट ७३०.५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *