कटारीको त्रिवेणी धाममा पाँच हजारले मकर नुहाए

डिसी नेपाल
१ माघ २०७८ १६:१२

काठमाडौं। उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे सङ्क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर पूजा–आराधना गरे । कोभिड पुनः तीव्ररुपमा फैलन थालेको भन्दै कटारी नगरपालिका र स्थानीय प्रशासनले त्रिवेणी मेला आयोजनामा रोक लगाए पनि मकर नुहाउन तथा पूजा गर्नका लागि आज बिहान ४ बजेदेखि नै छिमेकी जिल्ला सिरहा, धनुषा तथा सिन्धुली र उदयपुरका भक्तजन भेला भएका स्थानीय समाजसेवी केदार धमलालले बताए ।

बिहानदेखि १० बजेसम्ममा पाँच हजारभन्दा बढी भक्तजन त्रिवेणीमा नुहाएर पूजाआजा गरेको उनको भनाइ थियो । सबैभन्दा धेरै भक्तजन सिरहा र सिन्धुलीबाट आएको कटारी अर्का स्थानीयवासी विष्णुप्रसाद दाहालको भनाइ थियो । दिउसो पनि त्रिवेणी नदी किनारमा ठूलो सङ्ख्यामा भक्तजन आउनेक्रम जारी रहेको छ । देशभर कोरोना तीव्ररुपमा फैलिन थालेपछि त्रिवेणीमा प्रत्येक वर्ष लाग्दै आएको १५ दिने मेला यसपटक सञ्चालन नगरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । उनका अनुसार त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन भक्तजन आउने गरेका कारण सामाजिक दूरी कायम गर्दै पूजा आराधना गर्न सुझाव दिइएको थियो ।

प्रदेश नं १ कै महत्वपूर्ण धामका रुपमा यस धामलाई लिइन्छ । विगतका प्रत्येक वर्ष माघे सङ्क्रान्तिका समयमा यो धाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गरेको स्थानीय बृद्ध पुण्यप्रसाद ढुङ्गानाले बताए । यसैगरी छिमेकी देश भारतको विहार, जयनगर दरभङ्गा र पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसानसहित स्थानबाट पनि थुप्रै भक्तजन त्रिवेणीमा आउने गरेका थिए ।

माघे सङ्क्रान्तिमा मात्र नभई माघ महिनाभर नै देशरभरिका भक्तजन त्रिवेणी आउने गरेको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिए । कमला नदी र तावा खोलाको सङ्गमस्थलका रुपमा रहेको त्रिवेणी धामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको पुग्नेसमेत जनविश्वास रहिआएको कटारी बजारका अर्का बृद्ध दुर्गाबहादुर श्रेष्ठले उल्लेख गरे। त्रिवेणीधाममा कमलेश्वर महादेव, शिद्धिगणेश र महालक्ष्मीलगायत अन्य देवी–देवताका मन्दिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *