लागूऔषधसहित १० जना पक्राउ
कर्णाली । प्रहरीले सुर्खेतबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित १० व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जीत खड्का, नारायण नगरपालिका–८ दैलेखका २३ वर्षीय दीपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुङ्गेश्वर गाउँपालिका–१ दैलेखका २४ वर्षीय डम्बर खड्का र महावै गाउँपालिका–३ कालीकोटका २२ वर्षीय जीवन सिंह रहेका छन्।
होटेलको कोठा नं २०६, २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच गर्दा लागूऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment