चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई जना पक्राउ

डिसी नेपाल
४ माघ २०७८ १०:१८

काठमाडौँ। चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेत रहेका छन्।

चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो ।

घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन् । उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।

घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको थियो । पक्राउ दुवै जनालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *