आशंकाको भरमा उपचारः तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

डिसी नेपाल
५ माघ २०७८ १४:२२

मेलम्ची । पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती ५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो आन्द्रामा समस्या छ । छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयो ।

तर, काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै उनलाई केही समयपछि निको पनि भयो ।

इन्द्रावती गाउँपालिकाका कुमार आचार्यलाई पनि २१ पुसमा पेट दुख्ने समस्या भयो । मेलम्ची अस्पताल गए । परीक्षण गर्दा किड्नीमा पानी जमेको भनियो । ५.५ एम एमको पत्थरी रहेको र तत्कालै अप्रेसन गरिहाल्न आचार्यलाई अस्पतालका चिकित्सकले सुझाव दिए । उक्त अस्पतालले दायाँपट्टी पत्थरी छ भनेको थियो । उनी बनेपाको केपी पोलिक्लिनकमा गए । त्यहाँ परीक्षण गराउँदा बायाँ पट्टी पत्थरी रहेको छ भनियो ।

दुई वटा अस्पतालमा फरक-फरक रिपोर्ट दिएपछि उनी २९ मा धुलिखेल अस्पताल पुगे । आचार्यको किड्नीमा पानी नजमेको र कुनै अप्रेसन गर्नु नपर्ने धुलिखेल अस्पतालले बतायो । पानी खाएरै केही दिनमा पत्थरी जाने र किड्नीलाई कुनै असर नभएको धुलिखेलका चिकित्सक निशा गुप्ताले बताइन् ।

आचार्य र लुइँटेल त प्रतिनिधि पात्र मात्र हुन् उनीहरू जस्तै दैनिक जसो कुनै न कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका धेरै बिरामी समस्यामा पर्ने गरेका छन् ।

‘हामीले त शंका लागेको कुरा गरेका हौँ,’ अस्पतालका चिकित्सक मिलन खड्काले भने, ‘पानी जमेको शंका लागेर पानी फाल्न भनिएको हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *