विपद्मा जनातासँग सरकारः मन्त्री कार्की

डिसी नेपाल
५ माघ २०७८ १७:२७

काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाएका छन् । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उनले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताए ।

उनले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने बताउँदै प्रदेश सरकार नयाँ ढङ्गले काम गर्ने प्रयास गरेको बताए । उनले स्थानीय तहमा कानुनसम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर छ भन्दै जनताका सेवामा जनप्रतिनिधि तदारुकतासाथ लाग्न आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका बर्सेनि आगलागीको समस्य देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धन सम्पत्ति क्षति हुनबाट जोगिने विश्वास व्यक्त गरे । उनले भने, “आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन ।”

आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दा बढी लाभ लिन सकोस् शुभकामना दिए । उनले दमकल मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र सञ्चालनका लागि दिइएको बताए ।

सो अवसरमा मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक/एक थान नयाँ बारुणयन्त्र सहयोगस्वरुप प्रदान गरेको छ । देवानगञ्ज गाउँपालिकाले प्राप्त दमकलबाट हरिनगर र बर्जु गाउँपालिका संयुक्तरूपमा यसको रेखदेख, मर्मत र सुरक्षाको काम गर्ने भनी मन्त्रालयसँग दुई पक्षीय सम्झौता पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *