४० वटा देशले लागू गरिसकेको अत्याधुनिक प्रविधि अमेरिकाले किन लागू गर्न सकेन ?

डिसी नेपाल
७ माघ २०७८ १३:३२

काठमाडौं। अमेरिकामा फाइभ जी इन्टरनेट प्रविधि सुरु हुनासाथ स्थगित गरिएको छ । कैयौं अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले अमेरिकाले फाइभजी प्रविधि लागू गरेसँगै अमेरिकाका विमानस्थलमा उडान नगर्ने निर्णय गरेपछि अमेरिका फाइभ जी प्रविधि लागू गर्नबाट पछि हट्नुपर्यो । अमेरिकाले फाइभ जी प्रविधि लागू गर्नासाय, इमिरेट्स एयरलाइन्स, एयर इण्डिया सहित अमेरिकाकै कम्पनीहरु डेल्टा एयरलाइन्ट, अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत धेरै कम्पनीले यसको विरोध गरेका थिए ।

एयरलाइन्स कम्पनीहरुले फाइभ जी प्रविधिले विमानको अवतरणमा प्रभाव पारेर असुरक्षित बनाउने बताएका छन् । एयरलाइन्स कम्पनीहरुले अमेरिकाका कैयौं विमानस्थलबाट आउने र जाने दुवै उडान रद्द गरिदिएपछि अन्ततः फाइभ जी प्रविधि लागू गर्न लागेका अमेरिकाका २ प्रमुख कम्पनीहरु एटी एण्ड टी र वेरिजोनले तत्कालको लागि फाइभ जी प्रविधि लागू गर्ने योजना स्थगित गरेका छन् ।

खासमा भएको के हो ?

कुनै पनि पछिल्लो इन्टरनेट प्रविधि थ्रीजी, फोरजी वा फाइभजीका लागि स्पेक्ट्रमको आवश्यकता हुन्छ । यी स्पेक्ट्रमको फ्रिक्वेन्सी जति धेरै हुन्छ इन्टरनेटको गति पनि त्यत्तिकै धेरै हुन्छ । अमेरिकामा फाइभ जी प्रविधिका लागि लिलामी भएको स्पेक्ट्रमको फ्रिक्वेन्सी ३.७ देखि ३.९८ गिगाहर्ज छ । यसलाई सी ब्याण्ड पनि भनिन्छ । यो फ्रिक्वेन्सीले एयरलाइन्सको अल्टिमिटरमा समस्या भएको हो । अमेरिकाको नियामक निकाय संघीय उड्डयन प्रशासनका अनुसार फ्लाइटको अल्टिमिटरले ४.२ देखि ४.४ गिगाहर्जको फ्रिक्वेन्सीकमा काम गर्छ ।

अल्टिमिटर त्यो उपकरण हो जसले पाइलटलाई विमान अवतरण गर्न सघाउँछ । पाइलटले अल्टिमिटरबाटै विमान जमिनबाट कति उचाइमा छ र विमानले जमिन छुन कति दूरी बाँकी छ भन्ने थाहा पाउँछन् । यसैको सहयोगमा पाइलटले विमानलाई सुरक्षित अवतरण गराउँछन् । अल्टिमिटर लो भिजिबिलिटीमा निकै उपयोगी हुन्छ किनकि पाइलटले बाहिर देख्न नसक्दा पनि अल्टिमिटरले विमानले जमिन छुन कति बाँकी छ भन्ने सटिक जानकारी दिन्छ ।

अल्टिमिटर र फाइभ जी फ्रिक्वेन्सीमा के छ सम्बन्ध ?

अल्टिमिटर र फाइभ जी स्पेक्टमको फ्रिक्वेन्सीमा धेरै फरक नहुनु नै यहाँ चिन्ताको विषय हो । एयरलाइन्स कम्पनीहरुले अल्टिमिटर र फाइभजी फ्रिक्वेन्सी नजिक भएकोले फाइभ जीको फ्रिक्वेन्सीले अल्टिमिटरलाई प्रभावित पार्ने चिन्ता व्यक्त गरेका छन् । यसको कारणले विमानको नेभिगेसन सिस्टमले ठिकसँग काम नगर्ने उनीहरुको चिन्ता हो ।

एयरलाइन्स कम्पनीहरुलाई फाइभ जी प्रविधि देशैभरी सुरु गर्दा पनि कुनै समस्या छैन तर उनीहरुले फाइभ जी विमानस्थलको रनवेबाट कम्तीमा ३.२ किलोमिटर (२ माइल) दूरीसम्म मात्र संचालन गर्न भनेका छन् ताकि अवतरण गर्न लागेको विमानको अल्टिमिटरको फ्रिक्वेन्सी र फाइभ जीको फ्रिक्वेन्सी नजुधोस् । युनाइटेड एयरलाइन्सले फाइभ जी नेटवर्क रनवेमा रहेमा यसबाट हरेक वर्ष १५ हजारभन्दा धेरै उडान र साढे १२ लाख यात्री प्रभावित हुने बताएको छ ।

टेलिकम कम्पनी के भन्छन् ?

वेरिजोन र एटी एण्ड टीले भने विश्वभरका ४० भन्दा धेरै देशमा फाइभ जी प्रविधि सुरु हुँदा त्यहाँ केही समस्या नभएको र अमेरिकामा मात्र समस्या भयो भनिएको बताउँदै एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर भ्रामक सूचना र त्रास फैलाएको आरोप लगाएका छन् ।

अरु देशमा समस्या नहुँदा अमेरिकामा मात्र किन भयो ?

युरोपेली संघका २७ देशले फाइभ जी प्रविधि सुरु गरिसकेका छन् । २०१९ मा इयुले फाइभ जीको लागि फ्रिक्वेन्सी तय गरेको थियो । यसअनुसार फाइभ जीको फ्रिक्वेन्सी ३.४ देखि ३.८ गिगाहर्ज हुनेछ । यो अमेरिकामा तय फ्रिक्वेन्सी भन्दा कम हो । फ्रान्समा फाइभ जीको लागि जुन स्पेक्ट्रम प्रयोग हुन्छ त्यसको फ्रिक्वेन्सी ३.६ देखि ३.८ गिगाहर्ज छ । यो पनि अमेरिकाको भन्दा कम हो ।

दक्षिण कोरियामा अप्रिल २०१९ मा फाइभ जी सुरु गरिएको थियो । उहाँको फ्रिक्वेन्सी ३.४२ देखि ३.७ गिगाहर्ज छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म यी कुनै पनि देशमा विमानस्थल नजिक फाइभ जी चलाउँदा कुनै समस्या भएको छैन । अमेरिकाको वायरलेस ट्रेड ग्रुप सीटीआइएका अनुसार युरोप र एसियाका करिब ४० देशमा फाइभ जीको लागि सी ब्याण्डको प्रयोग भइरहेको छ तर त्यहाँका विमानका रेडियो अल्टिमिटरमा कुनै प्रभाव परेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *