स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरिने

डिसी नेपाल
७ माघ २०७८ २१:३३

काठमाडौं ।टिभी टुडे टेलिभिजनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको किरिया खर्च र छोराको अध्ययनका लागि आवश्यक खर्च सहयोग गर्ने भएको छ । सो टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो ।

श्रमजीवी–पत्रकार सङ्घ नेपालको आग्रहपछि टेलिभिजन व्यवस्थापनले स्वर्गीय विश्वकर्माको किरिया खर्चवापत तत्काल रु २१ हजार उपलब्ध गराउने भएको छ । बाँकी बच्चाको पढाइ खर्च स्वर्गीय पत्रकारको जीवनसँगिनीको खातामा जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरिएको छ । सङ्घले आज टेलिभिजन व्यवस्थापनसँग भेट गरी मृतक पत्रकारको आफन्तलाई राहत दिनुपर्ने, मृतकको बच्चालाई पढाइ खर्च दिनुपर्नेलगायतका माग राखेको थियो । सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आजै नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को व्यवस्थापन पक्षसँग भेट गरेको छ । भेटका क्रममा व्यवस्थापन पक्षले उचित छानबिन गरी दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।

उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणविना उपचार नहुने भनेर लापरवाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ । सङ्घले घटनाका दोषी उपर छानबिनसहित कडा कारवाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ । छब्बीस वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *