उदयपुरमा प्रहरीद्वारा मास्क वितरण

डिसी नेपाल
८ माघ २०७८ २१:१२

काठमाडौं। जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ ओटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं,’ प्रनाउ गौतमले भने, ‘मास्क वितरणसँगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौं ।’

जिल्ला प्रहरी कार्यालय, ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरीचौकी र अस्थायी प्रहरी चौकीहरूबाट सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रहरीले जिल्लाको मुख्य व्यापारिक केन्द्रहरू गाईघाट, कटारी, बेल्टार, मुर्कुचीमा दिनभर खटिएर मास्क वितरण गर्‍यो । बजार क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत विभिन्न युनिटहरूले वितरण गरेको थियो । प्रहरीले मास्क वितरणसँगै कोरोनाविरुद्ध सचेत रहन सचेतना जगाउने काम गरेको छ । कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् ।

बजार क्षेत्र र समुदायमा सर्वसाधारणले मास्क प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्ने, स्यानिटाइजर प्रयोग नगर्ने, साबुन पानीले हात नधुने जस्ता लापरबाही अत्यधिक देखिएको प्रनाउ गौतमले बताए । प्रहरीले यसरी नै सचेत गराउने अटेर गरेमा प्रशासनले कारबाही गर्ने बताइएको छ । सकेसम्म सर्वसाधारणलाई कारबाही गर्न नपरोस्, आफै सचेत बनोस् भन्ने हेतुले पहरीले यो कदम चालेको जनाएको छ ।

गाईघाट बजारको मुख्यचौकको आसपासमा खटिएको विभिन्न प्रहरी टोलीले पैदल यात्रु तथा सवारीमा चढेका यात्रुलाई राकेर मास्क प्रयोग गर्न सम्झाएका थिए । उनीहरूलाई निःशुल्क मास्क दिँदै कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकोप्रति सचेत गराएका थिए । मास्क सधैँ प्रयोग गर्न अनुरोध गरेका थिए । सर्वसाधारणले प्रहरीको अनुरोधलाई सहर्ष स्विकार्दै मास्क प्रयोग गरेका थिए । भिडभाडमा, बजारमा, विभिन्न कार्यक्रम र कार्यालयहरूमा मास्क अनिवार्य प्रयोग गर्ने सर्वसाधारणले प्रतिबद्धता गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *