राष्ट्रिय सभा निर्वाचन : मौन अवधि सुरु, के के गर्न पाइँदैन?

डिसी नेपाल
१० माघ २०७८ ७:३३
60
Shares

काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो। यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन।

मौन अवधिमा मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक र भाइबर जस्ता विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाइने व्यवस्था छ। यसैगरी उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी सञ्चार माध्यमले समाचार वा सूचना प्रसारण गर्न नहुने पनि आयोगद्वारा सार्वजनिक सुचनामा उल्लेख छ।

आयोगले निर्वाचन मण्डलको अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा मतदाता परिचयपत्रका आधारमा वा नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

राष्ट्रिय सभामा २० फागुनबाट १९ सिट रिक्त हुँदै छ। रिक्त हुनेमा नेकपा एमालेको ८ सिट छ। यस्तै एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *