नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरवन्दी थप गर्ने तयारी

डिसी नेपाल
१३ माघ २०७८ १०:०१

काठमाडौं। लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरवन्दी थप गर्नुपर्ने आवाज उठेपछि सरकारले दुवै संगठनमा दवन्दी थप गर्ने तयारी थालेको छ। नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको संख्या १० पुर्‍याउने र सशस्त्रमा ४ पुर्‍याउने गरी तयारी थालेको हो।

हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ एआइजी रहेका छन्। यसमा प्रशासनतर्फ पाँच एआइजीको दरवन्दी थप गरेर १० पुर्‍याउन लागिएको हो। त्यस्तै सशस्त्र प्रहरीमा अहिले २ एआइजी छन्।

सीमा सुरक्षा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठनामा दरवन्दी थप गरी ४ पुर्‍याउन लागिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसै साता संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) प्रतिवेदन बुझाएमा चाडै नै दरवन्दी थप गर्ने सरकारी तयारी छ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गर्न सैद्धान्तिक सहमति दिएपछि दुवै संगठनमा विशिष्ट श्रेणीको दरवन्दी थप हुने निश्चित भएकै कारण ओएण्डएम गर्न गृहमन्त्रालयले बुधबार दुवै प्रहरीका डिआइजीलाई सदस्य राखेर समिति गठन गरेको छ।

नेपाल प्रहरीले यसअघि नै ३ एआइजीको दरवन्दी थप गर्न भनेर ओएण्डएम प्रतिवेदन गृहमा पठाएको थियो। सशस्त्र प्रहरीले भने अहिलेसम्म कुनै पनि प्रतिवेदन बुझाएको छैन। तर मौखिक रुपमा २ वटा दरवन्दी आवश्यक रहेको बताउदै आएको छ। माघ २६ गते दुई डिआइजीहरु मन्दिप श्रेष्ठ र खड्ग राई डिआइजीको पदावधि पूरा भई घर जाने भएपछि त्यसपछि मात्रै सशस्त्र प्रहरीमा एआइजीको दरवन्दी थप हुनेछ।

‘आजै दरवन्दी थप भएपनि उनीहरुलाई बढुवा गर्ने समय सकिएकाले धेरै हतार नगरिएको हो, सरकारले चाहेर पनि उहाँहरुलाई एआइजीमा बढुवा गर्न सकिँदैन, उहाँहरुकै लागि भनेर सशस्त्र प्रहरीको नियमावलीहरु परिवर्तन गर्दा पनि समय अभाव हुनेछ’, सशस्त्र मुख्यालयले स्रोतले भन्यो।

दुई डिआइजीको अवकाशपछि थपिएको दुई एआइजी पदमा तीन जनाले प्रतिस्पर्धा गर्नेछन्। हालका डिआइजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतम मध्ये दुई जना एआइजी हुनेछन्।

त्यस्तै नेपाल प्रहरीमा भने आकांक्षी धेरै भएपछि ३बाट ५ दवरन्दी बनाउन लागिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा आफैले तीनलाई पाँच बनाउनु भन्ने निर्देशन दिएपछि प्रहरी प्रधानकार्यालयले पठाएको ओएण्डएम प्रतिवेदन मन्त्रिपरिष कार्यालयबाटै गृहमा फर्केको थियो।

डिआइजीहरु इश्वरबाबु कार्की, वसन्त पन्त, गणेश ऐर, प्रकाश कार्की, धिरज प्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुन, दिवेश लोहनी, अरुण विसीले एआइजी हुन आफ्नो क्षेत्रबाट लविङ गरेपछि उनीहरु मध्ये पाँचलाई अहिले एआइजीमा बढुवा गर्ने र त्यसपछि खाली हुने तीन वटा पदमा अन्य आंकाक्षीलाई बढुवा गर्ने सरकारी तयारी रहेको छ।

‘यसपटक कार्कीद्वय, मध्ये एक जना एआइजी हुनेछन् त्यसमा इश्वरबाबुको पल्लाभारी छ, त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले गणेश ऐरलाई बनाउने कोसिस गरेका छन्, जनार्दन शर्माले धिरजप्रताप सिंहलाई बनाउनु पर्ने शर्त राखेका छन्। त्यस्तै दिवेश लोहनीलाई अघिल्लो सरकारले अन्याय गरेको भन्दै प्रहरीभित्र र कांग्रेसको भित्रिया टिमले लविङ गरिरहेको छ, पन्त र सुवेदीलाई पनि एआइजी बनाउनै पर्ने भएकाले पाँच बनाउन लागिएको हो’, स्रोतले भन्यो।

अहिले भएकाहरुलाई नै सरकारले एआइजी बनाउने तयारी गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ। वसन्त लामालाई आफ्नै सहकर्मीलाई झूठा मद्धामा फसाएको भन्दै प्रहरीभित्रै असन्तुष्टि रहेको र रविन्द्र धानुकको शक्ति केन्द्रमा धेरै दौडधुप र चलखेल रहेको भन्दै माओवादी कांगेस दुवैले विश्वास नगरेका कारण उनी एआइजीको दौडमा पछि परेको स्रोतको दावी छ। यद्यपि उनले वालुवाटार र खुमलटारलाई सन्तुलन मिलाउन खोजेका कारण एआइजी भैहाल्ने संभावना पनि उत्तिकै रहेको प्रहरीभित्र चर्चा छ ।

‘सरकारले जसजसलाई चाह्यो उनीहरुलाई मात्रै एआइजी बनाउँछ, हामीले यसलाई वा उसलाई भन्नुनै गलत हुनेछ’, प्रहरी प्रधानकार्यालयका एक अधिकृतले भने। यसअघि सिनियरलाई छाडेर दुई विश्वराज पोखरेल र सहकुल थापालाई एआइजी बनाइएको थियो । जबकि उनीहरुभन्दा सिनियर काकीद्वय, पन्त, ऐर बाँकी नै थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *