बलात्कृतलाई नै जुत्ताको माला लगाइएको घटनामा ११ पक्राउ, पक्राउ पर्ने ९ जना महिला

डिसी नेपाल
१५ माघ २०७८ ११:४४
448
Shares

काठमाडौं। भारतको राजधानी दिल्लीको शाहदरा क्षेत्रको कस्तुरबा नगरमा एक महिलालाई अपहरण गरेर सामूहिक बलात्कार गरिएको घटनामा पुलिसले अहिलेसम्म ११ जनालाई पक्राउ गरेको छ । यी महिलालाई अपहरण गरेर बलात्कार गरेपछि त्यहाँको समाजले पीडितलाई नै कपाल मुण्डन गरेर उनको अनुहारमा कालोमोसो लगाइएको थियो । त्यसपछि उनलाई जुत्ताको माला लगाएर बजारमा तमाशा बनाएर डुलाइएको थियो । पीडितको उमेर २० वर्ष बताइएको छ ।

दिल्ली पुलिसले शुक्रबार बताएअनुसार एफआइआरमा ११ जनाको नाम छ । पक्राउ गरिएकामध्ये ९ जना महिला छन् । दिल्ली पुलिसले छिटै अरु पनि गिरफ्तारी हुने बताएको छ । समाचार एजेन्सी एएनआइको रिपोर्टअनुसार बुधबार यी महिलाका पतिले घटनाबारे पुलिसलाई जानकारी दिएका थिए । पीडितका पति घटनास्थलमा थिएनन् र उनलाई उनको घरमालिकले यसबारे जानकारी दिएका थिए ।

पुलिसले सूचना पाउनासाथ घटनास्थल पुगेर महिलालाई बचाएर थाना लिएर आएको बताएको छ । पुलिसले भारतीय दण्ड विधानका विभिन्न धाराअनुसार मुद्दा दर्ता गरेको छ । यसमा सामूहिक बलात्कार, कुटपिट, यौन आक्रमण, आपराधिक षड्यन्त्र लगायतका धाराहरु छन् । महिलाकी बहिनीले समाचार एजेन्सी पीटिआइलाई बताएअनुसार छिमेकका एक युवकले गत वर्ष नोभेम्बरमा आत्महत्या गरेका थिए । ती युवकले पीडित महिलासँग प्रेम गर्ने दावी गरेका थिए । बहिनीका अनुसार मृतक युवकका परिवारले उनकी दिदीलाई युवकको मृत्युको जिम्मेवार भन्थे ।

बहिनीका अनुसार उनीहरुलाई गएको नोभम्बरदेखि नै डर धम्की दिने र सताउने क्रम चलिरहेको थियो । नोभेम्बरमा अहिलेका अभियुक्त मध्येका एकका छोराले कथित रुपमा पीडित महिलाले अस्वीकार गरेको भन्दै रेलवे ट्रयाकमा आत्महत्या गरेका थिए । पीटिआइको रिपोर्टअनुसार ती युवकका परिवारले कथित रुपमा बदला लिने कसम खाएका थिए ।

बहिनीका अनुसार बुधबार उनी दिदीलाई गहुँ दिन आएकी थिइन् । उनलाई केही मानिसहरुले आफ्नो पिछा गरिरहेको थाहा थिएन । केहीको हातमा डण्डा थिए र एक महिलाको हातमा कैंची थियो । जब उनी दिदीको घर पुगिन् र उनले दिदीलाई तल आउन भनिन् त्यही बेला एक अटोरिक्सामा उनलाई अपहरण गरियो ।

उनले भनिन् ‘उनीहरुले मेरो मोबाइल खोसे ताकि मैले पुलिसलाई यसको रिपोर्ट गर्न नसकुँ । उनीहरुले मेरो आँखैअगाडि दिदीलाई अटोमा अपहरण गरे । गाडीभित्रै उनीहरुले दिदीको कपाल काट्न थाले । उनीहरुले दिदीलाई आफ्नो घरभित्र लगेर बन्द गरिदिए । उनको टाउको मुण्डल गरियो । उनलाई नराम्रोसँग कुटपिट गरियो र दिदीसँग गलत काम गरियो ।’

उनका अनुसार अभियुक्तहरुले उनका भतिजालाई पनि अपहरण गरेका थिए तर उनलाई भने कुनै तरिकाले छुटाउन सफल रहिन् । उनले भतिजालाई एउटा घरमा लुकाएर राखेकी छिन् र उनका अनुसार भतिजाको ज्यानलाई खतरा छ । बहिनीले भनिन् ‘मेरी दिदीसँग यो सब भइरहेका बेला कोही सहयोग गर्न आएनन् । डरले कुनै छिमेकी उनलाई बचाउन आएनन् । उनले कुनै तरिकाले पुलिसलाई यसको जानकारी दिन सकिन् र पुलिसले दिदीलाई छुटाए ।

पुलिसका अनुसार यो मामिलामा नाम आएका सबै ११ जना अवैध रक्सी कारोबारमा संलग्न छन् । पुलिसका अनुसार पक्राउ परेकामध्ये २ जना किशोर उमेरका पुरुष हुन् र उनीहरुमाथि बलात्कारको आरोप छ । पीडितको २०१८ मा बिहे भएको थियो र उनी आनन्द विहार क्षेत्रमा ३ वर्षकी छोराको साथमा भाडाको घरमा बस्छिन् ।

बहिनीका अनुसार पहिले पनि उनीहरुले धम्की दिएपछि पुलिसलाई खबर गरिन्थ्यो र विवाद आपसी समझदारीका सुल्झाइन्थ्यो । तर, दिदीमाथि यति निडरताका साथ आक्रमण हुन सक्छ भन्ने उनले सोचेकी थिइनन् । पीडितका ३९ वर्षका पिता पक्षघातग्रस्त छन् । आमाको २०२० मा मृत्यु भइसकेको छ । त्यसपछि परिवारको सबे जिम्मेवारी यी दिदीबहिनीको काँधमा छ ।

पीडितका पिताले पीटिआइसँग कुरा गर्दै भने ‘मेरी छोरीको बिहेको बेला कुनै समस्या भएन । पछिल्लो एक वर्षदेखि उनीहरुले उनलाई सताइरहेका थिए । उनीहरुले हामीलाई धम्क्याइरहेका थिए तर मैले के गर्न सक्थें, ओच्छ्यानमा छु ।’ यो घटनापछि पीडितको घरमा गाउँलेहरु आउने क्रम बढेको छ । उनीहरु न्यायको माग गरिरहेका छन् । पीडितका हजुरबुवा हजुरआमा भन्छन् ‘दोषीहरुले कडा सजाय पाउनुपर्छ । यो देशमा कुनै छोरीसँग यस्तो हुनु हुँदैन ।’

दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले बुधबार यो घटनालाई लज्जाजनक भनेका छन् र केन्द्र सरकारसँग पुलिसलाई कडा कारवाही गर्न निर्देशन दिन अपिल गरेका छन् । दिल्लीको महिला आयोगले यो घटनाको विषयमा दिल्ली पुलिसलाई नोटिस जारी गरेको छ र अभियुक्तहरुको गिरफ्तारीको लागि छिटो कदम उठाउन माग गरेको छ ।

यसअघि शाहदरा क्षेत्रको लागि दिल्ली पुलिसका उपायुक्त आर सत्यसुन्दरमले भनेका थिए ‘आपसी रिसइवीका कारण शाहदरा जिल्लामा एक महिलामाथि यौन हमलाको दुर्भाग्यपूर्ण घटना भएको छ । पुलिसले ४ अभियुक्तलाई गिरफ्तार गरेको छ र घटनाको जाँच भइरहेको छ । पीडितलाई काउन्सिलिङ र हरसम्भव सहयोग गरिएको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *