श्रीलंकामा कार किन्नको लागि मारामार, पुरानो कारलाई करोडौंमा किन्न किन छन् तयार ?
काठमाडौं। टाट पल्टिने संघारमा पुगेको श्रीलंका सबै अत्यावश्यक सामग्रीको कमीसँग जुधिरहेको छ । सुपरमार्केट खाली भइसकेका छन् र रेष्टुरेण्ट खाद्य वस्तुको कमीका कारण बन्द भएका छन् । तर, यहाँ प्रयोग गरिएका पुराना कारको बजार भने निकै फस्टाएको छ । सरकारले खाद्यान्न, औषधि र इन्धन किन्नको लागि आवश्यक डलर बचाउनको लागि अन्य अत्यावश्यक नमानिने सामानको आयातमा रोक लगाएको छ । यसबाट श्रीलंकामा गाडीको कमी भएको छ र पुराना गाडीको मूल्य आकाशिएको छ ।
सरकारले नयाँ गाडी आयात गर्न प्रतिबन्ध लगाएपछि पुराना गाडीको माग अत्याधिक बढेको छ । करिब सवा २ करोड जनसंख्या भएको यो देश टाट पल्टिन लागेको छ तर महंगीले आशाक छोएको छ । सरकारले कार आयातमा २ वर्षका लागि प्रतिबन्ध लगाएको छ जसका कारण देशमा नयाँ कार आउन बन्द भएको छ । यही कारण कार किन्न चाहनेहरुले पुरानो सेडान र कम्प्याक्ट कारबाट काम चलाउनु परेको छ । किन्न चाहनेहरुले यी पुराना कारको लागि करोडौं मूल्य तिर्न बाध्य भएका छन् ।
एन्थोनी फर्नान्डो कोलम्बोको बाहिरी क्षेत्रमा आफ्नी छोरीको लागि सस्तो कार किन्ने प्रयासमा छन् । उनकी छोरीले एक वर्षदेखि कार किन्ने कोसिस गरिरहेकी छिन् तर अधिक मूल्यका कारण यो सम्भव हुन सकिरहेको छैन । ६३ वषर््ीय फर्नान्डोले समाचार एजेन्सी एएफपीसँग भने ‘मेरी छोरीले मूल्य कम हुन्छ भन्ने सोचेर कार किन्न ढिलो गरिन् त्यसैको सजाय अहिले भोगिरहेकी छिन् ।’ फर्नान्डोका अनुसार कारको मूल्य आम मानिसको पहुँचबाट बाहिर गएको छ ।
एउटा ५ वर्ष पुरानो टोयोटा ल्याण्ड क्रुजर ६ करोड २५ लाख श्रीलंकाली रुपैयाँ (३ करोड ७२ लाख नेपाली रुपैयाँ) मूल्यमा अनलाइनमा बेचिँदैछ । जब कार आयातमा प्रतिबन्ध थिएन त्यतिबेलाको मूल्यको ३ गुणा मूल्यमा यो कार अहिले बेचिँदैछ । यति पैसामा एक व्यक्तिले कोलम्बोमा सजिलै राम्रो घर किन्न सक्छन् । राजधानी कोलम्बोको सबैभन्दा ठूलो डिलरशीपमध्येको एकका मालिक सरथ यापा बन्दरा मुस्कुराउँदै भन्छन् ‘एउटा कार र एउटा घर सफलताको प्रतीक हो त्यसैले धेरै मानिसहरु यति महंगो मूल्यमा पनि कार किन्न तयार छन् ।
कोलम्बोको भिडभाडयुक्त सडकको लागि मानिसहरुसँग आफ्नो गाडी हुनु आवश्यकता हो । श्रीलंकाको सार्वजनिक यातायात सेवा पूर्ण रुपमा जर्जर भइसकेको छ । यस्तोमा मानिसहरुको लागि आफ्नो कार हुनु जरुरी भएको छ । ट्याक्सीको संख्यामा पनि भारी गिरावट आएको छ । ड्राइभरहरुले आफ्नो ट्याक्सी बेचेर महंगीमा परिवारका लागि अत्यावश्यक सामान किनेका छन् । काम गरिरहेका ट्याक्सीहरुले दोब्बर मूल्य लिइरहेका छन् ।
एक डिलरशिपमा उभिएका एक अन्य ग्राहक उदय हेगोडा अराचीले एएफपीसँग भने ‘तपाइँसँग आफ्नो कार हुनुपर्छ । देशमा आर्थिक स्थितिलाई हेर्दा हामी छिटै मूल्य घट्ने आशा गर्न सक्दैनौं ।’ कोभिड महामारीका कारण श्रीलंका निकै खराब स्थितिमा पुग्यो । उसको पर्यटन उद्योग नष्ट भयो र विदेशी मुद्रा भण्डार सकिन लागेको छ । मार्च २०२० मा सरकारले सकिँदै गएको विदेशी मुद्रा भण्डार बचाउनको लागि नयाँ कार सहित कैयौं क्षेत्रमा आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, सरकारको यो नीति सफल भएन र देश सबै जरुरी वस्तुको कमीको सामना गरिरहेको छ ।







डिसी नेपाल







Facebook Comment