राप्रपा अध्यक्ष लिङ्‍देनलाई कमल थापाको पत्रः मेरा सुझाव किन रद्दीको टोकरीमा फाल्नु भएको ?

डिसी नेपाल
१६ माघ २०७८ १८:१८
256
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्‍देनलाई सम्बोधन गर्दै नेता थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्षण गराएका छन् ।

‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो । तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ,’ उनले लेखेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ ।’

महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई संलग्न नगराइएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु,’ उनले लेखेका छन् ।

यसबीच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढाएको उनले बताएका छन् ।

यस्तो छ थापाको ध्यानाकर्षण पत्र

श्रीमान् अध्यक्षज्यू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यसमिति, काठमाडौँ

विषयस् ध्यानाकर्षण बारे

मैले तपाईंलाई मिति २०७८ मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै यो ध्यानाकर्षण पत्र प्रेषित गरेको छु ।

मंसिर २७ को उक्त पत्रमा मैले ‘पार्टीको बृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध छु । यो पार्टीमा मेरो रगत पसिना बगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ’ भनी उल्लेख गरेको थिएँ । उक्त धारणा प्रति म अहिले पनि प्रतिबद्ध छु ।

पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ ।

पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ । महाधिवेशन पछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारी समेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु ।

यसबिच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढेर गएको छ ।

पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो । राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउनु हुँदैन । राजसंस्था प्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो । राजसंस्था पार्टी राजनीति भन्दामाथि सबैको साझा भएर रहन सक्नुपर्छ ।

राप्रपा निर्मल निवासले खोलेको पार्टी होइन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ । पूर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमसेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईंको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु ।

तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो । मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो । सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो ।

त्यसर्थ, मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यस बारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।
धन्यवाद

कमल थापा
निवर्तमान अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *