मौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल

डिसी नेपाल
१७ माघ २०७८ १६:५०
1.3k
Shares

काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले भोलि (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ ।

अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन् ।

पहिलो खेलमा अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग खेलेका १२ खेलाडी दोस्रो खेलमा समेत रहेका छन् । चोटबाट फर्कने प्रयासमा रहेका र अवसरको खोजीमा रहेका खेलाडीका लागि दोस्रो खेल मौका बन्न सक्नेछ ।

यता, मौरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किने हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ ।

पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो ।

यता, शारीरिक रुपमा बलियो रहेको मौरिससविरुद्ध पहिलो हाफमा फिक्का देखिए पनि नेपालले दोस्रो हाफमा लय समातेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको पत्रअनुसार पाँच हजार दर्शक उपस्थित रहेको मैदानमा विमल घर्ती मगरले ५५औं मिनेटमा गोल गर्दा नेपालले आफ्नो गति समात्यो ।

गोल लगत्तै बारम्बार अवसर बनाएको नेपालले अन्य गोल भने थप्न सकेन । नेपालका अन्जन बिष्ट, जगजित श्रेष्ठ दोस्रो हाफमा गोल गर्नबाट चुकेका थिए ।

पछिल्लो फिफा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ भने मौरिसस १७२औँ स्थानमा छ ।

पहिलो खेल खेलेका कप्तान किरण कुमार लिम्बूसहित रक्षक गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुजर जिउ ठकुरी मिडफिल्डर सुमन लामा, सुजल श्रेष्ठ, तेज तामाङ, अन्जन बिष्ट र फरवार्ड आशिष लामा, विमल घर्ती मगर दोस्रो खेलमा समेत प्रशिक्षक अब्दुल्लाहको रोजाइमा छन् ।

दोस्रो खेलमा समेत प्रशिक्षक अब्दुल्लाहले सुरुवाती खेलकै ‘प्लेइङ सेट’ लाई निरन्तरता दिन सक्छन् । पहिलो खेलमा गोल निकाल्न निकै कठिन भएका कारण पनि प्रशिक्षक दोस्रो खेलमा दबाब लिन चाहँदैनन् ।

उनी यदि गोल निस्किएको खण्डमा मात्र नयाँ खेलाडीलाई डेब्यु दिने योजनामा छन् । अघिल्लो खेलमा समेत एक गोल निस्किएपछि अन्तिम समयमा दुई खेलाडीले डेब्यु पाएका थिए ।

डिफेन्सिभ मिडफिल्डर सुदिप गुरुङ र मिडफिल्डर आकाश बुढा मगरले पहिलो खेलमा डेब्यु गरेका हुन् ।

दोस्रो खेलमा शत्रुघन चौधरी, नविन गुरुङ, आशिष राई, सुशिल राई र प्रशान्त अवस्थी डेब्युको पर्खाइमा रहनेछन् ।

दोस्रो खेलका लागि नेपाली टिम

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान), विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, अनन्त तामाङ,

मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन बिष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, सुशिल राई, सन्तोष तामाङ

फरवार्डः आशिष लामा, विमल घर्ती मगर, आशिष राई,


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *