उपत्यकाका अस्पतालहरूमा नक्कली पीसीआर रिपोर्ट बनाउने धन्दा, कर्मचारी र दलाल पक्राउ
काठमाडौं । कोरोना संक्रमण बढेको बेला नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई स्ट्रिङ अपरेशन मार्फत प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार नक्कली पीसीआर रिपार्ट तयार गर्ने अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् ।
महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन् । महाशाखाका अनुसार उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई बनाउँदै आएको सूचनाको आधारमा प्रहरीले स्ट्रिङ अपरेशन चलाएको थियो ।
पक्राउ पर्नेमा नागरिक कम्युनिटीका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रसन्न कुमार झा रहेका छन् । यस्तै, कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्रकुमार यादव, अस्पतालको ल्याबका कर्मचारी माधव मैनाली पक्राउ परेका छन् । छिट्टानको साथबाट ८ थान र यादवको साथबाट १७ थान नक्कली पिसीआर रिपोर्ट फेला परेको महाशाखाका प्रवक्ता एसपी कोइरालाले जानकारी दिए ।
प्रहरी टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट उत्पादन गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिएको छ । यस्तै, दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । दुवै अस्पतालका पीसीआर ल्याबहरु सिल गरी पीसीआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment