कोभिशिल्ड खोपले छोरीको ज्यान गएको भन्दै डाक्टरले मुद्दा हाले, १० अर्ब रुपैयाँ क्षतिपूर्ति माग
काठमाडौं। एक जना मेडिकल विषयका प्राध्यापकले आफ्नी छोरीको कोभिशिल्ड कोरोना खोपका कारण ज्यान गएको भन्दै अदालतमा मुद्दा हालेका छन् । उनकी कृतक छोरी पनि डाक्टर नै थिइन् । यी प्राध्यापकले भारतको मुम्बइस्थित बाम्बे हाइकोर्टमा मुद्दा दायर गर्दै १० अर्ब भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । याचिकामा उनले आफ्नी डाक्टर छोरीको मृत्यु कोभिशिल्ड खोपको साइड इफेक्टका कारण भएको आरोप लगाएका छन् ।
यी चिकित्सकले आफ्नो याचिकामा कोभिशिल्ड खोप उत्पादन गर्ने भारतको सीरम इन्स्टिच्युट अफ इण्डिया, यसका सहयोगी बिल गेट्स, भारतको केन्द्र सरकार र राज्य सरकारका अधिकारीहरुलाई विपक्षी बनाएका छन् । भारतीय अखबार दैनिक भास्करले याचिकाकर्ता दिलिप लुनावतलाई उद्धृत गर्दै लेखेअनुसार उनकी ३३ वर्षकी छोरी स्नेहल लुनावत नागपुरको एक मेडिकल कलेजमा सिनियर लेक्चरर थिइन् । उनलाई २८ जनवरी २०२१ मा नासिकमा कोभिशिल्डको पहिलो डोज दिइएको थियो ।
५ फेब्रुअरीमा उनलाई धेरै टाउको दुख्न थाल्यो । डाक्टरसँग सम्पर्क गरेपछि उनलाई माइग्रेनको औषधि दिइयो । यो खाएपछि उनलाई टाउको दुख्न कम भयो । त्यसपछि ६ फेब्रुअरीमा उनी गुगांव गइन् । ७ फेब्रुअरीका दिन बिहान २ बजे उनलाई थकानका साथ बान्ता भयो । नजिकैको आर्यन अस्पतालमा भर्ना गरेपछि उनकी छोरीलाई उनको मस्तिस्कमा रक्तस्राव भइरहेको बताइयो । त्यहाँ न्यूरो सर्जन नभएका कारण उनलाई अर्को अस्पताल लगियो ।
त्यहाँ डाक्टरहरुले स्नेहलको दिमागमा रगतका ढिक्का परेको हुन सक्ने आशंका गरे । त्यसपछि स्नेहललाई ब्रेन ह्यामरेज भयो । डाक्टरहरुले रगतका ढिक्का हटाउन सर्जरी गरे । त्यसपछि स्नेहल १४ दिनसम्म भेन्टिलेटरमा रहिन् । तर, उनको अवस्थामा कुनै सुधार भएन । १ मार्च २०२१ मा उनको मृत्यु भयो ।
लुनावतका अनुसार उनकी छोरी स्वास्थ्यकर्मी थिइन् त्यसैले उनलाई खोप लगाउनको लागि बाध्य पारियो । उनका अनुसार ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया र अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) ले खोपको सुरक्षाका विषयमा गलत बयान दिएका छन् । याचिकाकर्ताले सिरम इन्स्टिच्युटमाथि झुटो प्रतिक्रिया दिएको आरोप लगाएका छन् । उनका अनुसार खोपको कुनै खराब असर भेटिएन भन्नु गलत हो ।
याचिकामा दावी गरिएअनुसार भारतको केन्द्र सरकारको आफटु इफेक्ट फलोइङ इम्युनाइजेसन कमिटीले २ अक्टोबर २०२१ मा स्नेहलको मृत्यु खोपको साइड इफोक्टबाट भएको स्वीकार गरेको थियो । लुनावतले राज्यका जिम्मेवार अधिकारी र कोभिशिल्ड खोप निर्माता सिरम इन्स्टिच्युट पुणेबाट आफूले क्षतिपूर्तिको रकम पाउनुपर्ने बताएका छन् । उनले स्नेहललाई शहीद घोषणा गरिनुपर्ने र उनको नाममा समर्पित एक शोध संस्थान पनि खोलिनुपर्ने माग गरेका छन् ।







डिसी नेपाल







Facebook Comment