मधेश प्रदेश सभामा रिक्त रहेका समितिको नेतृत्व चयन प्रक्रिया सुरु

डिसी नेपाल
१९ माघ २०७८ १९:४९

जनकपुरधाम । मधेश प्रदेश सभामा लामो समयदेखि सभापति विहीन रहेका संसदीय समितिको सभापति चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका लागि मधेश प्रदेश सभा सचिवालयले पक्रिया सुरु गरेको हो ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था रहेको छ । तर, लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ । तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपाबाट फाटमा सार्वजनिक लेखा समिति परेको थियो । तर, सभापति चयनको विषयमा तत्कालीन नेकपा सांसदद्वय सत्रुधन महतो र भारत साहबीच सभापतिलाई लिएर पार्टी नै दुई कित्तामा विभाजित भएपछि सभापति चयन हुन सकेन । त्यसपछि उक्त समितिको सभापति चयन हुन सकेका थिएन ।

अहिले प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) रहेकोले संसदीय मर्म अनुसार लोसपाले नै उक्त समिति पाउनुपर्ने प्रावधान छ । लोसपाबाट अहिले उक्त समितिमा सांसद उपेन्द्र महतो, अभिराम शर्मा र प्रह्लाद गिरी सदस्य रहेका छन् ।

यस हिसाबले लोसपालाई उक्त समिति दिएको खण्डमा यी तीन जनाबाट एक जना सभापतिमा चयन हुने छन् । सत्तारुढ गठबन्धनले आफैसँग उक्त समिति राख्ने मनसाय बनाएको छ ।

सत्तारुढ दलले लोसपाले महिला बालबालिका तथा सामाजिक न्याय समिति छोडेपछि मात्रै लोसपालाई सार्वजनिक लेखा समिति दिन सकिने एक सांसदले बताए । प्राकृतिक श्रोत तथा वातावरण समितिका तत्कालीन सभापति नेकपाका रामचन्द्र मण्डलको पद गएपछि अहिले उक्त समिति सभापति विहीन बनेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *