युरोपका थुप्रै देशमा अमेरिकाले सेना किन पठाउन थाल्यो ?

डिसी नेपाल
२० माघ २०७८ १०:४४
76
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा अतिरिक्त सेना पठाउने निर्णय किन गरेका छन् । अमेरिकी रक्षा मनत्रालय पेन्टागनले यो जानकारी दिएको हो । २ हजार सैनिकलाई नर्थ क्यारोलिना को फोर्ट ब्रेगबाट पोल्याण्ड र जर्मनी पठाइनेछ । जर्मनीमा पहिलेदेखि नै रहेका १ हजार सैनिकलाई रोमानिया पठाइनेछ ।

युक्रेनमा रुसले आक्रमण गर्ने आशंकाका कारण यसरी सेना पठाउन लागिएको पेन्टागनले बताएको छ तर रुसले आक्रमण गर्ने कुनै पनि योजना भएको अमेरिकाको दावी अस्वीकार गरेको छ । यद्यपि युक्रेनको सीमामा १ लाख रुसी सैनिक भने तैनाथ छन् । रुसले अमेरिकाको सेना पठाउने निर्णयलाई विनाशकारी भनेको छ ।

रुसले २०१४ मा युक्रेनको दक्षिणी क्रिमिया प्रायद्विपमा कब्जा गरेको थियो र ८ वर्षपछि अहिले यी दुई देशबीचको तनाव चरम अवस्थामा छ । रुसले युक्रेन सरकारमाथि मिन्स्क सम्झौता लागू नगरेको आरोप लगाएको छ । दुई देशबीच शान्ति बहाल गर्नको लागि मिन्स्कमा अन्तर्राष्ट्रिय सम्झौता भएको थियो । २०१४ देखि अहिलेसम्म दुई देशबीचको तनावमा १४ हजारभन्दा धेरै मानिस मारिएका छन् ।

अमेरिकाले अहिले तैनाथ गर्न लागिएका आफ्ना सैनिक युक्रेनमा नलड्ने बताएको छ । अमेरिकाले यी सैनिक अमेरिकाका नेटो सहयोगीहरुको रक्षा सुनिश्चित गर्नको लागि पठाइएको बताएको छ । यसअघि पेन्टागनले गत महिना नै युद्धको स्थितिमा युरोपको सहयोगको लागि साढे ८ हजार सैनिक अलर्टमा राख्ने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *