इँट्टा उद्योगविरुद्ध स्थानीय : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप

डिसी नेपाल
१ फागुन २०७८ ९:३३

झापा। खेतीयोग्य जमिनलाई असर गरेपछि कचनकवल गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन् । धान उत्पादनका लागि उर्वर कचनकवलमा इँट्टाभट्टाकै कारण उत्पादनमा ह्रास आएको स्थानीयको आरोप छ । कचनकवल गाउँपालिकामा सञ्चालन भएका ६ वटै इँट्टा उद्योगविरुद्ध स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका छन् । आठ सय बढीको हस्ताक्षरसहित स्थानीयले इँट्टा उद्योगविरुद्ध उजुरी गरेका हुन् । ‘इँट्टाभट्टाको धुलो धुवाँले बसिसक्नु छैन । त्यहाँ कुद्ने गाडीले सडक भत्काएर उस्तैछ, कल्भर्ट भत्किएको छ,’स्थानीय रविन राजवंशीभले भने, ‘बाल श्रमिक पनि राखेका छन् । यी इँट्टा उद्योग बन्द हुनुपर्छ ।’

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख जयनारायण अधिकारी उजुरीपछि अनुगमन थालिएको बताए । उनका अनुसार अनुगमनका क्रममा केही समस्या देखिएको छ । अधिकारीले बाल श्रमिक प्रयोग गरेको हुन सक्ने बताए । ‘हामी अनुगमनमा जाँदा इँट्टा उद्योग चलेका थिएनन् । त्यसकारण बालबालिकाले काम गरेको देखिएन,’ उनी भन्छन्, ‘तर, वरिपरि बालबालिका देखिए । उनीहरूले ती बालबालिका इँट्टा उद्योगमा पनि प्रयोग गरेका हुन सक्छन् ।’ अनुगमनका क्रममा सडक र कल्र्भट भत्किएको देखिएको बताए ।

यद्यपि इँट्टा उद्योगमा चल्ने सवारी हो या अन्य कारणले हो भन्ने यकिन भएको छैन । उनका अनुसार पछिल्लो समय झापामा इँट्टा उद्योगविरुद्ध स्थानीय आन्दोलित भइरहेका छन् । यसअघि हिल्दबारीमा एक इँट्टा उद्योग सञ्चालनको तयारी भएपछि स्थानीयले विरोध गरेका थिए । त्यो मुद्दा अहिले जिल्ला अदालत झापामा रहेको अधिकारीले बताए । यस्तै, यसअघि कमल गाउँपालिकामा स्थापना हुन लागेको इँट्टा उद्योगमा पनि स्थानीयले अवरोध गरेका थिए । जसका कारण उद्योग नै सञ्चालन हुन नसकेको अधिकारीले बताए । इँट्टा उद्योग सञ्चालनपछि माटोको उर्वर शक्तिमा ह्रास आउने, इँट्टा उद्योगके धुवाँले स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै उद्योग सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार झापामा ४२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योगले प्रदूषण फैलाएको स्थानीयको आरोप छ । उद्योगहरूमा बाल श्रमिक पनि रहेका कारण स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयलाई अनुगमन गरिदिन आग्रह गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *