पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्याजस्तै घटना दोहोरियो, अर्का एक व्यक्तिको कुटीकुटी हत्या
काठमाडौं। पाकिस्तानको पंजाब प्रान्तमा एक व्यक्तिलाई भिडले कुटीकुटी हत्या गरेका छन् । यो घटना खानेवाल सहरको तुलंबा सहरको हो । खानेपाल जिल्ला पुलिस र अतिरिक्त आइजी दक्षिण पंजाब कार्यालयले भिडले हत्या गरेको यो घटनामा एक व्यक्ति मारिएको पुष्टि गरेका छन् । यद्यपि उनीहरुले आधिकारिक रुपमा यसको कुनै कारण बताएनन् ।
स्थानीयका अनुसार मृतक व्यक्तिले कथित रुपमा कुरानको अपमान गरेका थिए त्यसैले भिडले ईशनिन्दाको आरोपमा उनको कुटेर हत्या गरेका हुन् । सामाजिक संजालमा शनिबार रातीदेखि भाइरल भइरहेको भिडियोमा एक व्यक्तिको शव रुखमा झुण्डिइरहेको देख्न सकिन्छ । अर्को एक भिडियोमा आक्रोशित भिडले भुइामा लडेका उक व्यक्तिमाथि ढुंगा बर्साइरहेको देख्न सकिन्छ ।
खानेवाल जिल्ला पुलिस प्रवक्ता इमरानले बीबीसी उर्दुसँग कुरा गर्दै बताएअनुसार मियां चन्नु तहसिलमा आक्रोशित भिडले एक व्यक्तिलाई कुटेर हत्या गरेका छन् । घटनापछि यस क्षेत्रमा ठूलो संख्यामा पुलिस बल तैनाथ गरिएको छ । मानिसहरु आक्रोशित छन् र स्थिति नियन्त्रित गर्ने कोसिस भइरहेको छ ।
घटनाका प्रत्यक्षदर्शी नसिर मियांका अनुसार उनले बेलुकीपख होहल्ला सुने र जब उनी घटनास्थलमा पुगे त्यहाँ भीडले एक व्यक्तिलाई ढुंगा हानिरहेका थिए । मानिसहरु आक्रोशित थिए । उनले यसको कारण सोध्दा ती व्यक्तिले कुरानको अपमान गरेको बताइयो । त्यसपछि ती व्यक्तिको शव रुखमा झुण्ड्याइयो ।
पुलिस घटनास्थल पुग्दा आक्रोशित भिडले पुलिसमाथि पनि ढुंगा हानेका थिए । केही पुलिसकर्मीलाई हल्का चोट लागेको छ । एक पुलिसकर्मी विष्फोटमा गम्भीर घाइते भएका छन् । यसअघि पाकिस्तानको सियालकोटमा पनि केही महिनाअघि श्रीलंकाली नागरिकको भिडले ईशनिन्दाको आरोपमा हत्या गरिदिएपछि ठूलो बबाल भएको थियो ।







डिसी नेपाल







Facebook Comment