आइपिएल : नखेल्ने खेलाडीलाई करोडौं, मिस्टर आइपिएल आउट, यी ५ कुरा कसैले सोचेका थिएनन्

डिसी नेपाल
२ फागुन २०७८ १२:३९

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)को मेगा अक्सन सकिएको छ । २ दिनसम्म बैंगलोरमा खेलाडीहरुको ठूलो बजार लाग्यो जसमा २ सयभन्दा धेरै खेलाडी बिके । यसमा कैयौं रेकर्ड पनि बने । सबै १० टिमले यो लिलामीमा ५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरे । तर, यो आइपिएल अक्सनमा केही यस्ता कुरा पनि भए जो कसैले सोचेका थिएनन् ।

१. मिस्टर आइपिएल बिकेनन्

भारतीय राष्ट्रिय टिमका पूर्व क्रिकेटर सुरेश रैनालाई यस पटक कुनै टिमले किनेनन् । चेन्नइ सुपर किंग्सका ‘चिन्ना थाला’ र यो प्रतियोगितामा ‘मिस्टर आइपिएल’ भनिने सुरेश रैनाको बेस मूल्य २ करोड थियो । तर, कुनै टिमले उनलाई किन्न चाहेनन् । यहाँसम्म कि जब दोस्रो पटक खेलाडीको नाम मागियो त्यहाँ सुरेश रैनाको नाम थिएन । रैनालाई मिस्टर आइपिएल पनि भनिन्छ र यो प्रतियोगितामा उनले ५ हजार ५ सय भन्दा धेरै रन बनाइसकेका छन् । तर, अब रैना आइपिएलमा देखिने छैनन् । यसलाई एक युगको अन्त्य मानिएको छ ।

२. खेल्दै नखेल्ने खेलाडीलाई करोडौंको वर्षा

इङल्याण्डका फास्ट बलर जोफ्रा आर्चरको गणना अहिलेका सक्रिय क्रिकेटरमा सर्वोत्कृष्ट बलरहरुमा हुन्छ । क्रिकेटको कुनै पनि फरम्याटमा आर्चर हिट छन् । तर, पछिल्लो १ वर्षयता उनी चोटसँग जुधिरहेका छन् । यही कारण उनी एशेज सिरिज, आइपिएल २०२१ मा खेल्न पाएका थिएनन् । भर्खरै सर्जरी गराएका उनी आइपिएल २०२२ मा पनि खेल्न सक्दैनन् । उनी यो सिजन खेल्न नसक्ने मुम्बइ इण्डियन्सका मालिक आकाश चोपडाले पुष्टि पनि गरेका छन् तैपनि मुम्बइ इण्डियन्सले उनलाई ८ करोड रुपैयाँ खर्च गरेर किन्यो । अब जोफ्रा आर्चर सिधै आइपिएल २०२३ मा मात्र देखिनेछन् ।

३. दिग्गजहरुले कुनै भाउ पाएनन्

यस पटक टिमहरुको रणनीति कस्तो किसिमको रह्यो भन्ने कुरा धेरै मानिसहरुले बुझ्न सकेनन् । किनकि टि–२० विशेषज्ञ इङल्याण्डका ब्याटर डेविड मलान, अस्ट्रेलियालाई टि–२० विश्वकप जिताउने कप्तान एरोन फिन्च, इङल्याण्डको टि–२० टिममा क्रान्ति ल्याउने कप्तान इयोन मोर्गन लगायतलाई पनि कुनै टिमले किनेनन् । यसका अलावा आइपिएलमा सबैभन्दा धेरै विकेट लिने बलरहरुमध्येका अमित मिश्रा, पियुष चावलालाई पनि कसैले किनेनन् ।

४. विदेशी स्पिनरले महत्व पाएनन्

यस पटक आइपिएल भारतमा हुनेछ त्यसैले स्पिनरहरुलाई धेरै फाइदा हुन सक्छ । तर, यस पटक टिमहरुले विदेशीको ठाउँमा भारतीय स्पिनरहरुमा विश्वास गरेका छन् । इङल्याण्डका आदिल राशिद, अफगानिस्तानमा मुजीब उर रहमान, दक्षिण अफ्रिकाका तबरेज शम्सी लगायत शीर्ष स्पिनरलाई कसैले किनेनन् । यी स्पिनरलाई उत्कृष्ट मानिन्छ । मुजीबलाई त राशिद खानपछिका बेस्ट मिस्ट्री स्पिनर भनिन्छ । टिमहरुले यस पटक खेलाडीको उपलब्धतालाई प्राथमिकतामा राखेको देखियो ।

५. दुश्मनहरु साथी भए

आइपिएलका कारण अलग अलग देशका खेलाडीहरुबीच मित्रता बढेको छ यो धेरैले देखेका छन् । तर, यस पटक आइपिएलमा दुश्मनहरुको जोडी पनि बनेको छ । अर्थात जुन खेलाडीहरु यसअघिका सिजनमा कुनै न कुनै मौकामा एक अर्कासँग भिडेका छन् ती खेलाडीहरु अहिले एउटै टिममा छन् । बडौदाको टिममा वारपारको लडाइ लड्ने क्रुणाल पंड्या र दीपक हुड्डा यसपटक एउटै टिम लखनय सुपरजाइन्ट्सको लागि खेल्नेछन् । अर्कोतर्फ मांकडिङ केसका कारण भिडेका रविचन्द्रन अश्विन र जोस बटलर यसपटक एटिम राजस्थान रोयल्समा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *