पर्यटन प्रविधिमैत्री व्यवसायका लागि महिला पर्यटन व्यवसायीलाई तालिम

डिसी नेपाल
२ फागुन २०७८ २३:०५

पोखरा । पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि कास्कीको पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइनसम्बन्धी तालिम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घमा आबद्ध सदस्यलाई डिजिटल मार्केटिङ तालिम प्रदान गरिएको हो ।

तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधि मैत्री व्यवसाय अहिलेको आवश्यकता भएको उल्लेख गर्दै प्रविधिको सही प्रयोगबाट व्यवसायलाई प्रवद्र्धन गर्न सकिने धारणा राखे । उहाँले पछिल्लो समय अधिकांश पाहुनाले सामाजिक सञ्जालको प्रयोग गर्ने भएकाले त्यसबारे व्यवसायीले आफ्नो सेवासुविधा लगायतका विषयमा जानकारी दिन सके व्यवसाय प्रवद्र्धन हुँदै जाने बताए । उनले वर्तमान अवस्थामा अधिकांशको हातमै भइराख्ने मोबाइल एपको प्रयोगबाट संसारभर व्यवसायका बारेमा जानकारी दिन सकिने र तालिमपश्चात् व्यवसायी महिलाले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो व्यवसायलाई मार्केटिङ गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

पोखरा होटेल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङसम्बन्धी तालिम अपरिहार्य हुँदै गएको र घरमै बसेर प्रविधिको प्रयोगबाट विश्वव्यापी रुपमा व्यवसाय प्रवद्र्धनका लागि सघाउ पुग्ने बताए । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सही समयमा सही निर्णयको आवश्यकता औँल्याउँदै समयानुकूल व्यवसायका लागि डिजिटल मार्केटिङको आवश्यकतामाथि जोड दिए।

सङ्घका अध्यक्ष पार्वती पाण्डेले व्यवसायी महिलाको नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमसँगै व्यावसायिक क्षमता विकासका लागि प्रविधि मैत्री तालिमको आवश्यकता महसुुस गरी तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले प्रतिस्पर्धाको युगमा गुणस्तर सेवा प्रवाहका लागि प्रविधिको उच्चतम र सही प्रयोगको आवश्यकता र खाँचो औँल्याए ।
दुईदिने सो तालिममा प्रशिक्षक पारस देवकोटा र उज्जल पौडेलले डिजिटल मार्केटिङका सैद्धान्तिक र व्यावहारिक प्रयोगका बारेमा प्रशिक्षण दिनुभएकोे महासचिव ममता न्यौपानेले जानकारी दिईन । तालिममा सहभागी विष्णु गुरुङ एकता, माया सुवेदी र लक्ष्मी सुवेदीले अनुभव सुनाउँदै प्रविधिको युगमा व्यवसायलाई प्रविधिमैत्री बनाएर लैजानका लागि तालिम निकै फलदायी बनेको धारणा राखेका थिए ।

संस्थाका सचिव एवम् कार्यक्रम संयोजक शर्मिला न्यौपानेले प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संस्थाका ५० जना व्यवसायी महिलाको तालिम प्रदान गरिएको जानकारी दिईन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *