अमेरिकाको छेउमा चीनले यसरी बिच्छ्याउँदैछ जाल, बलियो बनाउँदैछ आफ्नो पकड
काठमाडौं। एकातिर विश्वको नजर युक्रेन र रुसमा छ भने अर्कोतिर चीनले भौगोलिक रुपमा अमेरिकाको निकै नजिक ल्याटिन अमेरिकामा आफ्नो पकड बलियो बनाउँदैछ । नेटोको मुद्दालाई लिएर रुसले युक्रेनको सीमामा हजारौं सैनिक तैनाथ गरेको छ । उसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका गरिएको छ । यो तनावका कारण विश्वको, खासगरी पश्चिमी देशको नजर युक्रेनमा टिकेको छ । यो तनावका बीच ल्याटिन अमेरिकी देशहरुका स्थानीय मिडियामा समाचार आइरहेको छ कि अमेरिकाको दक्षिणमा रहेका देशहरुमा पछिल्ला हप्ता चिनियाँ व्यापारी र कूटनीतिज्ञको भ्रमण बढेका छन् ।
कैयौं केन्द्रीय र दक्षिण अमेरिकी देशहरुको सरकारले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागी हुन सम्झौता गरेको पनि रिपोर्ट छ । साथमा स्थानीय मिडियामा ल्याटिन अमेरिकी देशका नेताहरुको चीन भ्रमणको बारेमा पनि लेखिएको छ । हालै अर्जेन्टिना र इक्वेडरका राष्ट्रपतिहरुले अमेरिकाको कूटनीतिक बहिष्कारलाई बेवास्ता गर्दै शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिए र चिनियाँ राष्ट्रपति शी जिनपिङसँग भेट गरे ।
बढ्दो निकटता
अर्जेन्टिना अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको ऋणको भुक्तानीका विषयमा अमेरिकी सहयोगको विषयमा चर्चा गरिरहेको छ । यो चर्चाका बीच अर्जेन्टिनाका बामपन्थी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले फेब्रुअरीको सुरुवातमा रुस र चीनको भ्रमण गरे । उनका यी भ्रमण विवादमा रहे । आफ्नो भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकामा देशको निर्भरता कम गर्ने विषयमा चर्चा गरे ।
इक्वेडरका राष्ट्रपति गुलेर्मो लासो मेन्डोजा पनि नशाको कारोबार गरिरहेका गिरोहहरुसँग लड्नको लागि अमेरिकाको सहयोग चाहन्छन् । उनी पनि ऋणका विषयमा चीनसँग कुरा गरिरहेका छन् । केन्द्रीय अमेरिकादेखि अमेरिकातिर जाने प्रवासी, यहाँ फैलिइरहेको नशाको कारोबार र भ्रष्टाचार अमेरिकी विदेश नीतिको टाउको दुखाइ बनेको छ ।
यस्तोमा पछिल्ला दिनमा चीनले बामपन्थी शासन भएको निकारागुआलाई ताइवानसँग परम्परागत रुपमा कूटनैतिक सम्बन्ध तोड्न बाध्य पार्यो । चीनले एल साल्भाडोर र होन्डुराससँग आफ्नो सम्बन्ध पनि बलियो बनाएको छ । केही जानकारहरुको रायमा अमेरिकाको पारम्परिक ब्याकयार्ड भनिने क्षेत्रमा चीन आफ्नो प्रभुत्व बढाउने कोसिस गरिरहेको छ ।
खोप, धन र प्रविधिको सहारा
धेरैजसो मामिलामा चीनले यी देशहरुलाई आफ्नो देशमा बनेको कोभिड–१९ खोप दान दिएको छ र उनीहरुको अन्य आवश्यकता पूरा गरेको छ । यसबाट यी देशसँगचीनको राम्रो र बलियो कूटनैतिक र व्यापारिक सम्बन्ध बन्ने बाटो खुलेको छ । यस किसिमका संकेत पनि देखिएका छन् कि चीनले अमेरिका र केही ल्याटिन अमेरिकी देशहरुका नेताहरुबीच मानव अधिकार र गणतन्त्रका विषयमा जारी कूटनीतिक तनावको फाइदा उठाएको छ ।
उदाहरणको लागि एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलेले उनका केही नागरिकहरुमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धलाई वाहियात भनेका छन् । अमेरिकाले इक्वेडरका सरकारी अधिकारीहरु र आपराधिक संगठनहरुबीच कारोबार भएको आरोप लगाएको थियो । पछिल्ला दिनमा ल्याटिन अमेरिकालाई निशाना बनाएर चीनको सरकारी मिडियामा स्पेनिस र पोर्चुगिज भाषामा सन्देश पठाइएका छन् र यस क्षेत्रमा काम गरिरहेका चिनियाँ कूटनीतिज्ञको सामाजिक संजालमा अधिक जानकारी साझा गरिएको छ ।
साथमा स्थानीय मिडियामा चीनका विषयमा धेरै समाचार प्रकाशित भका छन् । यिनीहरुमा एक किसिमले यो हेरिएको छ कि पश्चिमी गोलाद्र्धमा चीन न केवल रणनीतिक रुपले अहम साझेदारको रुपमा उदाइरहेको छ, आर्थिक रुपले पनि ठूलो खेलाडी बनेर अगाडि आइरहेको छ । ९ फेब्रुअरीमा ब्राजिलको गाजेटा दो पोवो नामको एक अखबारमा प्रकाशित उक समाचार अनुसार दुवै देशको बीचमा २०२१ मा व्यापार ऐतिहासिक रेकर्डसम्म पुगेको छ ।
८ फेब्रुअरीमा पेरुको एल पेरुआनो नामको एक अखबारमा लेखिएको थियो ‘२०२१ मा ल्याटिन अमेरिकासँग चीनको व्यापार ४५० अर्ब डलरको आंकडा पार गरिसकेको छ जो आफैंमा एक नयाँ रेकर्ड हो ।’ एक अमेरिकी विश्वविद्यालयमा जनवरी २०२२ मा भएको एक अध्ययनमा भनिएको छ ‘स्थानीय नेताहरुको कुरा मान्ने हो भने ल्याटिन अमेरिकामा खासगरी अर्थव्यवस्था र प्रविधिको मामिलामा चीनको प्रभाव अत्यन्तै अधिक छ ।’
को मित्र को शत्रु ?
चीनले पटक पटक भनिरहन्छ ऊ बिना शर्त सहयोगको लागि तयार छ भलै त्यो कोभिड भ्याक्सिनको रुपमा होस् वा संरचनागत सुधारको लागि होस् । अमेरिकाका अनुसार चीन कुनै पनि तरिकाले आफ्नो भूराजनीतिक लक्ष्य पूरा गर्न चाहन्छ र यसको लागि पैसाको प्रयोग गरिरहेको छ । एल साल्भाडोरको मामिलालाई यसैको उदाहरण भनिएको छ । अमेरिकी सरकारले गणतान्त्रिक प्रक्रिया नअपनाएको भन्दै एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलेको आलोचना गर्छ । यो आलोचनाका बीच बुकेलेले घोषणा गरिदिए कि २०२१ समाप्त हुनुभन्दा पहिले चीनले देशमा एक राष्ट्रिय स्टेडियम बनाउनेछ जुन उसको तर्फबाट दान हुनेछ ।
यसबारेमा ट्वीट गरेर उनले सोधे ‘मित्र को हो ? त्यो व्यक्ति जो तपाइँलाई स्टेडियम, पुस्तकालय, कन्भेन्सन सेन्टर, बन्दरगाह र पानीको प्लान्ट बनाएर दिन्छ वा त्यो व्यक्ति जसले तपाइँलाई प्रतिबन्धको सूचीमा समावेश गरेर तपाइँमाथि प्रतिबन्ध लगाउँछ र तपाइँका विरोधीहरुको वृत्तपोषण गर्छ ।’ साल्भाडोरको स्थानीय मिडियाका अनुसार विश्लेषकहरुले भनेका छन् कि बुकेले अमेरिकालाई उक्साउनको लागि चीनतिर हात बढाइरहेका छन् जो व्यापारको मामिलामा अहिले उनको सबैभन्दा ठूलो सहयोगी हो ।
ल्याटिन अमेरिकाका ब्राजिल, चिली, अर्जेन्टिना जस्ता कैयौं ठूला अर्थव्यवस्थाहरुमा चीन पहिले नै द्विपक्षीय व्यापारमा अमेरिकाभन्दा अगाडि बढिसकेको छ । पेरु र भेनेजुएलाको मामिलामा पनि यस्तै छ । कोलम्बिया, इक्वेडर र अन्य स्थानहरुमा पनि चीनले आफ्नो पकड बढाउन सुरु गरेको छ । चीनको व्यापारिक तरिका आफ्नो विदेश नीतिमा अरुसँग ‘अल्टि लेटरसल’ सम्बन्धको विकास गर्नु भएको जस्तो देखिन्छ । यसको लागि उसले अमेरिका र ऊसँग जोडिएका वित्तिय संस्थाहरुमा देशहरुको निर्भरता कम गर्ने कोसिस गरिरहेको छ । जस्तो कि अर्जेन्टिनाको मामिलामा भइरहेको छ ।
साथमा क्युबा, निकारागुआ र भेनेजुएला जस्ता बामपन्थी रुझान भएका सरकार भएको देशमा पहिले नै भएको अमेरिका विरोधी भावनालाई बल दिनु हो जसलाई अमेरिका खतरनाक मान्छ । चीन ‘कम्युनिटी अफ ल्याटिन अमेरिका एण्ड क्यारेबियन स्टेट्स’ जस्ता क्षेत्रीय संगठनसँग पनि आफ्नो सम्बन्ध बलियो बनाइरहेको छ जो मल्टि लेटरलिज्ममा विश्वास गर्छन् । यो संगठनको नेतृत्व अहिले अर्जेन्टिनाले गरिरहेको छ । यो संगठनले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभसँग त करार गरेको छ नै, भेनेजुएला र क्युबाको नेतृत्वमा अमेरिका विरोधी एएलबीएसँग पनि सम्झौता गरेको छ ।
चिनियाँ मिडिया र कूटनीतिज्ञ
आफ्नो स्पेनिश भाषाको सेवामा चीनको सरकारी मिडिया सिन्ह्वाले ‘लिबेरोअमेरिका’ अथाएत अमेरिकाबाट स्वतन्त्रता नामको सेक्सन सुरु गरेको छ जसमा ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा चीनको कूटनीतिक कोसिसहरुको रिपोर्ट छापिएको छ । ७ फेब्रुअरीमा पिपुल्स डेली स्पेनिसमा एउटा लेख छापियो जसमा अर्जेन्टिना चीनको बेल्ट एण्ड रोड परियोजनामा सहभागी हुने कुरा गरिएको थियो । यसमा चिनियाँ–ल्याटिन जानकारको हवाला दिँदै भनिएको छ ‘ब्राजिल, मेक्सिको र कोलम्बिया जो अहिलेसम्म बेल्ड एण्ड रोड परियोजनामा सहभागी भएका छैनन् उनीहरुले पनि यो मौकाको फाइदा उठाउने कोसिस गर्न सक्छन् ।’
९ फेब्रुअरीमा चीनको सीजीटीएन इस्पानोलले इक्वेडरका राष्ट्रपतिले चीनसँग २०२२ मा एक व्यापारिक सम्झौता गर्ने सम्भावनामा चर्चा गरेको थियो । रिपोर्टमा चीनले आफ्नो देशमा बनेको सीनोभ्याक कोभिड १९ भ्याक्सिन २५ लाख डोज दिने योजना बनाइरहेको बताइएको थियो ।
ताइवान र शिंजियांगको मामिलामा मानवअधिकार हननको पश्चिमी आरोपका बीच चिनियाँ दूतावास र कूटनीतिज्ञ ल्याटिन अमेरिकी देशहरुसँग राम्रो भइरहेको आफ्नो सम्बन्धको बारेमा सानो भन्दा सानो जानकारी पनि सामाजिक संजालमा साझा गरिरहेका छन् । अर्जेन्टिनास्थित चिनियाँ दूतावासले ६ फेब्रुअरीमा ट्वीट गर्दैअर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेज चीन भ्रमणमा जान लागेको बताएको थियो । अर्जेन्टिनाको स्थानीय मिडियामा उनको ट्वीटको आलोचना भयो ।
सैनिक पछि, पहिले व्यापारी
ल्याटिन अमेरिकाको क्षेत्रमा चीनलाई यस्तो खेलाडीको रुपमा हेरिएको छ जसले आफूलाई कूटनीतिक र व्यापारिक रुपमा पेश गरिरहेको छ । यद्यपि अमेरिकाले यसपछि चीनसँग सैन्य सम्झौता पनि हुन सक्ने चेतावनी दिएको छ । अर्जेन्टिनाका स्तम्भकार मारियो विनफिल्ड बामपन्थी विचारधारासँग जोडिएको पेजिना १२ अखबारमा लेख्छन् । ६ फेब्रुअरीमा एक लेखमा उनले भने ‘युक्रेनलाई लिएर रुस र पश्चिमी देशहरुबीच तनाव बढेको छ । तर, यसको बीचमा चीनले आफूलाई रुसबाट अलग गर्न सफल भएको छ र उसले व्यापारको माध्यमबाट आफ्नो पकड पूरै विश्वमा फैलाइरहेको छ ।’
अर्थव्यवस्था र यसमा लुकेका सम्भावनाहरुको मामिलामा चीन रुसको तुलनामा धेरै ठूलो भएको उनको तर्क थियो । उनले लेखे ‘उनीहरु पहिले व्यापारी हुन् र सैनिक पछि हुन् । अमेरिकाको लागि चीन अहिले सबैभन्दा ठूलो चुनौती हो ।’ चीनका अलावा रुस र इरानको साथमा पनि अमेरिकाको तनावलाई मध्यनजर गर्दै एक विश्लेषकले लेखेका छन् ‘यी तीनवटै देशले अमेरिकालाई चुनौती दिन्छन् ।’
निकारागुआको विपक्षको समर्थक वेबसाइट हेक्टर शमीसले एक लेखेको छ जसमा चीनले संरचनागत विकास र प्राकृतिक खनिजहरुमा जोड दिइरहेको भनिएको छ । अखबारले लेखेको छ ‘इरान ऊर्जा, अवैध गतिविधिहरु र हिजबुल्लाहको माध्यमबाट इस्लामी चरमपन्थीहरुसँग सम्बनधमा ध्यान दिइरहेको छ । रुस व्यापार र लगानीको मामिलामा न चीनसँग प्रतिस्पर्धा गर्न सक्छ न अमेरिकासँग । उसको अर्थव्यवस्था दुवैको तुलनामा सानो छ । तर, उसलाई पुरानो उपनिवेशवादी नीति थाहा छ र सैन्य संरचना बनाउन सक्छ ।’







डिसी नेपाल







Facebook Comment