एलपीएल–६ : होलिल्यान्ड र लिटल फ्लावर विजयी

डिसी नेपाल
५ फागुन २०७८ १८:४३

धनगढी । धनगढीमा जारी एलपीएलको छैठौं संस्करण अन्तरगत बिहीबार सम्पन्न खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र आयोजक लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।

होलिल्याण्ड इंगलिश स्कुलले शारदा सरस्वती स्कुललाई दुई विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वती माविले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ७४ रन मात्रै बनाएको थियो । उसको लागि विकास सुनारले सर्वाधिक ११ तथा नीरज तेजचन्द र मिलन बोहराले समान १०/१० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर जोड्न सकेका थिएनन् । शारदालाई सस्तैमा रोक्ने होलिल्याण्डका बलर सन्जय बोहराले तीन विकेट लगेका थिए ।

जीतका लागि ७५ रनको लक्ष्य पाएको होलिल्याण्डले १६ ओभर २ बलमा ८ विकेटमा लक्ष्य पुरा गरेको हो । होलिल्याण्को जीतमा अभिषेक पालले सर्वाधिक २२ रनको योगदान गरेका थिए । शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए ।

बिहीबार नै सम्पन्न एलपीएलको दोस्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । लिटल फ्लावरका लागि ओपनर सुवास ऐले सर्वाधिक ६७ रन बनाए । स्टेपिंग स्टोनका बलर वीरेन्द्र चन्द र आयुब चन्दले समान दुई विकेट लगेका थिए ।

१ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसका लागि आयुब चन्दले सर्वाधिक ३२ रन तथा बिशाल बिस्ट र भुपेश जोशीले समान १४ रन बनाए । स्टेपिंगलाई न्यून स्कोरमा रोक्ने क्रममा लिटल फ्लावरका अनुराग सिंहले दुई विकेटको योगदान दिएका थिए । खेलको प्लेयर अफ द म्याच लिटल फ्लावरका सुवास ऐर भए ।

प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुने छन् । पहिलो खेल गुरुकुल र सत्यवती एकेडेमीबीच हुनेछ भने दोस्रो खेल सैनिक आवासीय मावि र होलिल्याण्डबीच हुने छ । १० विद्यालयका टिमको सहभागिता रहेको प्रतियोगिता समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरी खेलाइँदै छ । समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठमाडौं, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी स्कुल दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया रहेका छन् ।

त्यसै गरी समूह ‘बी’मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिंग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *