क्याम्पियन सोलोलाई पराजित गर्दै गोल्डेनगेट क्वाटरफाइनलमा

डिसी नेपाल
५ फागुन २०७८ २२:०९

काठमाडौं । गोल्डेनगेट लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुष तर्फ विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तीन टिम रहेको समूह ‘डी’ को लिग खेलमा बिहीबार गोल्डेनगेटले क्याम्पियन सोलोलाई ७७–६३ ले पराजित गर्दै समूह विजेता बन्यो । विजेताका कर्मा गुरुङले २७ अंक जोडे । क्याम्पियनका मनीष राजोपाध्यायले १७ स्कोर गरे । लिगको आफ्नो पहिलो खेलमा गोल्डेनगेटले एसीसीएसलाई हराएको थियो ।

पहिलो क्वाटरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १३–१४ ले पछि पर्‍यो । बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको गोल्डेनगेटले १६–१२ र ३२–२३ अंक जोड्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा रोयल बास्केटबल एकेडेमीले दोहोरो जित निकाल्यो ।

महिलाको प्रतिस्पर्धात्मक भिडन्तमा रोयलले नेपाल प्रहरी क्लबलाई ५१–५० को साँघुरो अन्तरले हरायो । रोयलकी छिरिङ शेर्पाले २४ अंक जोड्दा प्रहरीकी रोशनी श्रेष्ठले १५ स्कोर गरिन् ।

तेस्रो क्वाटर सकिँदासम्म प्रहरी ३५–३३ ले अगाडि थियो । अन्तिम तथा चौथो क्वाटरमा रोयलले १८–१५ स्कोर गर्दै समग्रमा खेल १ अंकले जित्यो ।

त्यसअघि रोयल सुरुका दुई क्वाटरमा ६–११ र ९–१० ले पछि थियो । तेश्रो क्वाटरमा रोयलले १८–१४ स्कोर गर्दै अंक अन्तरलाई छोट्याएको थियो ।

पुरुषमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ९८–६७ ले पन्छायो । रोयलका विकास गुरुङले २२ तथा जेभियरका अनिश मगरले १५ अंक बटुले । सबै क्वाटरमा अग्रता बनाएको रोयलले १५–१४, २७–२१, २८–२० र २८–१२ अंक जोड्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *