दशरथचन्द नगरपालिकामा मेयर र उपमेयर कप क्रिकेट हुँदै

डिसी नेपाल
६ फागुन २०७८ १४:४२

काठमाडौं। बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ संस्करण हो ।

पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेल सुन्दरखाली खेल मैदान र निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। मेयर कप विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । उपमेयर कप विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास रहेको नगरउपप्रमुख मीना चन्दले बताइन्।

यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई नौ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *