किसानलाई तालिमसँगै प्रमाणपत्र र लाइसेन्स

डिसी नेपाल
७ फागुन २०७८ १७:३०

सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बेरोजगारी समस्याको अन्त्य गर्नका लागि कृषिको उत्थान आवश्यक रहेको बताएका छन् ।सप्तरीको राजविराजमा कृषि ज्ञान केन्द्र सप्तरीद्वारा आयोजित किसानहरूको क्षमता अभिवृद्धि, बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी आधार भूत तालिमको उद्घाटन समारोहमा प्रजिअले उक्त कुरा बताएका हुन् ।

रोजगारीको अभावमा जिल्लाका युवा बिदेसिनु पर्ने बाध्यताको अन्त्य गर्न उनीहरूलाई स्वदेशमै रोजगारी दिनका लागि कृषि उत्थान हुन आवश्यक रहेको प्रजिअ गौतमले बताए ।

कृषिबाट रैथाने लोप हुन लागेकोले उनले उत्पादकत्वमा वृद्धिका दृष्टिले हाइब्रिड उपयुक्त रहे पनि यहाँको रैथाने जातलाई संरक्षण गर्न उत्तिकै आवश्यक रहेको बताए । प्रजिअ गौतमले सहभागीहरूलाई तालिममा सिकेका ज्ञान आफूमा मात्र सीमित नराखी छरछिमेक र गाउँघरका अन्य कृषकमा समेतमा जानकारी गराउन तालिमका सहभागीहरूलाई आग्रह गरे ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले तालिममा सहभागी हुन सय भन्दा बढी आवेदनले आवेदन दिए पनि सीमित बजेट र वर्तमान अवस्थालाई ध्यान दिँदै ३५ जनालाई मात्र छनोट गरेको बताए ।

आवेदक मध्ये जिल्लाका १८ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी ३५ जनाको छनोट गरी तालिम दिने व्यवस्था मिलाइएको जानकारी दिए । तालिममा सहभागी भएकाको परीक्षा लिइने र उत्तीर्ण हुनेलाई दिइने प्रमाण पत्र (लाइसेन्स) का आधारमा बीउ बिजन उत्पादन, बिक्री वितरण र व्यवस्थापन लगायतका काम गर्न पाउने बताए ।

कृषि उत्पादनमा वृद्धि, बेरोजगार युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

तालिममा सहभागीलाई बिउ बिजन गुणस्तर केन्द्र काठमाडौंका कृषि विज्ञ प्रशिक्षक रचना देव र हरि यादवले प्रशिक्षण दिइरहेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *