जनताको आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व होः मुख्यमन्त्री राउत

डिसी नेपाल
७ फागुन २०७८ २१:५५

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहना र इच्छाको परिपूर्ति नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने भएकाले यसतर्फ प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रदेश राजधानी जनकपुरधाममा आज आयोजित झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सङ्घीयताका कारण जनतालाई अधिकारप्रति थप सजग बनाउने काम गरेको बताए । उनले अब जनताको इच्छा तथा आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व भएको उल्लेख गरे ।

मुख्यमन्त्री राउतले प्रदेश तथा देशवासीको चाहना पूरा गर्नका लागि थप क्रियाशील भएर सबै तहका सरकारले काम गर्न आवश्यक भएको बताए । उनले चार दलको गठबन्धनको सरकार भए पनि चार वर्षको अवधिमा प्रदेश सरकारले अरु प्रदेशको तुलनामा धेरै काम गरेको जिकिर गर्दै यस अवधिमा प्रदेशको नाम र स्थायी राजधानी तय हुनु ठूलो उपलब्धि रहेको बताए ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले झन्डोत्तोलन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *