त्रिभुवन विमानस्थलबाट झन्डै एक किलो सुनसहित २ विदेशी नागरिक पक्राउ

डिसी नेपाल
९ फागुन २०७८ १७:४४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९३६ ग्राम अवैध सुनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

सोमबार विमानस्थलको आगमन टनेल गेटबाट करिब सतहत्तर लाख उन्नाईस हजार बराबरको सुनसहित उनीहरुलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा हिमालय एयरलाईन्समा दुबईबाट काठमाडौं आएका यात्रु बंगलादेशी नागरिक र भारतीय नागरिक रहेका छन् ।

प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिकले लगाएको पाईन्टको कम्मरको भागमा फल्स बटम बनाएर पेटी आकारको अर्धठोस सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हो ।

बंगलादेशी नागरिकले भारतीय नागरिकले भन्सार छली गर्न लगाएको खुलाएपछि भारतीय नागरिकसमेतलाई नियन्त्रणमा लिईएको सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *