खोटाङको गाउँ–गाउँमा जनचेतनामूलक कचहरी नाटक

डिसी नेपाल
११ फागुन २०७८ १९:१३

खोटाङ । खोटाङको ६ स्थानमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको छ । साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरेको हो ।

वैदेशिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम गर्ने, घरमा हुने बुवाआमाको पारिवारिक बेमेल र झैझगडाको कारण बालबच्चामा पर्ने असर न्यूनीकरण गर्ने लगायतका सन्देश प्रवाहका लागि जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

फागुन ९ गते सोल्माबाट सुरु गरिएको जनचेतनामूलक कचहरी नाटक प्रदर्शन बुधबार दिक्तेल इङ्लिस बोर्डिङ स्कुल हुँदै बुइपामा पुर्‍याएर टुङ्ग्याइएको छ । कचहरी नाटक हेर्न स्थानीयको बाक्लो भिड लागेको थियो । कचहरी नाटकले अधिकांशको मन जितेको साइनो कला केन्द्रको दाबी छ । सोही जनचेतनामूलक कचहरी नाटक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको दुई स्थानमा प्रदर्शन गरिने कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा साइनो कला केन्द्रले गाउँ–गाउँमा पुगेर कचहरी नाटक प्रदर्शन गरेको हो ।

अनिल सुब्बाले निर्देशन गरेको जनचेतनामूलक कचहरी नाटकमा पवित्रा राई, कविराज राई, सञ्जीव राई, योगीन राई, सविना राई, निरुता खत्री, रोजिना खत्री, कौशिला राई र दीपेन्द्र राईको अभिनय रहेको छ । साइनो कला केन्द्रमा कचहरी नाटक सम्बन्धी १० दिने वर्कसपपछि कचहरी नाटकलाई गाउँ–गाउँमा पुर्‍याइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *