किन अमेरिकाले युक्रेनमा सेना पठाएन ? युक्रेनमै भएका भएका आफ्ना सैनिक पनि फिर्ता बोलायो

डिसी नेपाल
१४ फागुन २०७८ १२:२८
3.3k
Shares

काठमाडौं। युक्रेनमा भएको आक्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘रुसी आक्रामकता’ भनिरहेका छन् र यसको निन्दा गरिरहेका छन् । साथमा बाइडेनले कूटनीतिक तरिकाले पनि यसको जवाफ दिने कोसिस गरिरहेका छन् । अमेरिकाले पछिल्लो केही हप्तायता रुसी आक्रमणको विषयमा चेतावनी जारी गरिरहेको थियो जो अन्त्यमा सत्य साबित भएको छ । यतिमात्र होइन अन्तर्राष्ट्रिय व्यवस्था दाउमा परेको पनि भनिएको छ ।

यी सबका बीच अमेरिकी राष्ट्रपति बाइडेनले यो युद्धमा सहभागी हुनका लागि अमेरिकी सैनिक युक्रेन नपठाउने बताएका छन् । उनले अमेरिकी नागरिकलाई बचाउनको लागि पनि युक्रेनमा अमेरिकी सैनिक नपठाउने बताए । यसका साथै उनले युक्रेनमा सैन्य सल्लाहकार र निरीक्षकको रुपमा कार्यरत अमेरिकी सैनिकहरुलाई पनि फिर्ता बोलाएका छन् । यस्तोमा प्रश्न उठ्छ कि बाइडेनले आफ्नो कार्यकालकै सबैभन्दा गम्भीर विदेश नीति संकटका विषयमा यस्तो कदम किन उठाए ?

बाइडेनको यो निर्णयको पछाडि पहिलो कारण हो युक्रेन अमेरिकाको छिमेकी देश होइन । यो अमेरिकी सीमासँग जोडिएको देश होइन र युक्रेनमा अमेरिकाको सैन्य अड्डा पनि छैन । यसका साथै युक्रेनमा यस्तो तेल भण्डारपनि छैन जो रणनीतिक रुपले धेरै अहम होस् । साथमा युक्रेन अमेरिकाको ठूलो व्यापारिक साझेदार पनि होइन । तर, बाइडेनभन्दा पहिले कैयौं यस्ता अमेरिकी राष्ट्रपति पनि थिए जसले अमेरिकी हित खतरामा नपर्दा पनि अन्य देशहरुको लागि आफ्नो आर्थिक र सैन्य शक्ति प्रयोग गरेका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले १९९५ मा युगोस्लाभियामा सैन्य हस्तक्षेप गरेका थिए । २०११ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले यस्तै कदम लिबियाको गृहयुद्धका बेला उठाएका थिए । दुवै पटक मानिसहरुलाई बचाउने र मानवअधिकारको रक्षा गर्ने भनिएको थियो । यसअघि १९९० मा तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुशले इराकलाई कुवेतबाट बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय सैन्य गठबन्धन बनाएका थिए । यसलाई कानुन व्यवस्था कायम राख्ने तर्क गरेर जायज ठहर्याइएको थियो ।

बाइडेनका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीहरुसँग जब रुसबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सिद्धान्तहरु खतरामा पर्ने कुरा गरिँदा उनीहरुले लगभग यस्तै भाषाको प्रयोग गरे । तर, उनीहरुले सैन्य अभियानको ठाउँमा कडा प्रतिबन्धको माध्यमबाट आर्थिक चोट दिने सुझाव दिइरहेका थिए । बाइडेन प्रशासनको यो प्रतिक्रियाको लागि राष्ट्रपति बाइडेनको व्यक्तिगत सोचले पनि महत्व राख्छ । बाइडेनलाई सैन्य अभियानबाट हस्तक्षेप गर्नेहरुमा गनिँदैन । उनको यो सोच पनि विस्तारै बनेको हो ।

१९९० मा उनले बालकन क्षेत्रमा जारी जातीय हिंसामा अमेरिकी सैन्य हस्तक्षेपको समर्थन गरेका थिए । त्यसपछि २००३ मा उनले अमेरिकाको इराक अभियानको पनि समर्थन गरेका थिए तर त्यसपछि उनी अमेरिकाको सैन्य शत्ति प्रयोगका विषयमा सतर्क हुन थाले । उनले बाराक ओबामाको अफगानिस्तानमा सैनिकको संख्या थप्ने निर्णयदेखि लिबियामा सैन्य हस्तषेप गर्ने निर्णयको विरोध पनि गरेका थिए । त्यसपछि उनी आफैं राष्ट्रपति भएपछि अफगानिस्तानबाट सेना फिर्ता बोलाए । सेना फर्किएपछि अफगानिस्तानमा अस्तव्यस्तता र मानवीय संकट हुँदा पनि उनले आफ्नो निर्णयको बचाउ गरे ।

हालै भएको एपी–एनओआरसी सर्वेक्षणमा पनि ७२ प्रतिशत अमेरिकी नागरिकहरु रुस युक्रेन संकटमा अमेरिकाले कुनै भूमिका ननिभाओस् वा सानो मात्रै भूमिका निभाओस् भन्ने चाहन्छन् भन्ने खुलासा भएको थियो । टेड क्रुज जस्ता रिपब्लिकन सिनेटर जो शक्तिको प्रयोग गर्ने कुराको समर्थक मानिन्छन्, उनले पनि बाइडेन अमेरिकी सेनालाई युक्रेन पठाएर पुटिनसँग सिद्धा युद्ध गरुन् भन्ने चाहँदैनन् । अर्का रिपब्लिकन सिनेटर मार्को रुबियो पनि विश्वका सबैभन्दा ठूला परमाणु शक्तिबीच युद्ध कसैको लागि राम्रो नहुने मान्छन् ।

अमेरिकाले रुस–युक्रेन विवादमा सैन्य हस्तषेप नगर्नुको अर्को ठूला कारण हो पुटिनसँग परमाणु हतियारको ठूलो भण्डार छ । बाइडेन युक्रेनमा रुसी र अमेरिकी सैनिकको आमने सामनेको युद्ध गराएर विश्वयुद्ध सुरु गर्न चाहँदैनन् । यही महिना एनबीसीलाई दिएको अन्तरवार्तामा बाइडेनले भनेका थिए ‘हामी कुनै आतंकवादी संगठनसँग लड्दै छैनौं । हामी संसारका सबैभन्दा ठूला सेनामध्ये एकको सामना गर्दैछौं । यो निकै जटिल समस्या हो र स्थिति निकै छिटो बिग्रिन सक्छ ।’

यसका साथै अमेरिकालाई कुनै सन्धिका कारण युक्रेनमा सेना पठाउनै पर्ने बाध्यता छैन । नेटोको आर्टिकल ५ मा भनिएको छ ‘कुनै पनि नेटो सदस्य देशमाथि आक्रमणलाई सबै सदस्य देशमाथि आक्रमण मानिनेछ । सबैले एक अर्कालाई बचाउनको लागि कदम उठाउनु पर्नेछ ।’ तर युक्रेनको कुरा फरक छ किनकि ऊ नेटोको सदस्य होइन । तर, बिडम्बनाको कुरा यो संघर्षको पछाडि पुटिननको माग छ – युक्रेनलाई नेटोमा सहभागी नबनाइयोस् । नेटोले रुसको माग अस्वीकार गरेको थियो ।

बाइडेनले युक्रेनमा सेना पठाउँदै छैनन् तर युक्रेन र रुससँग सीमा जोडिएका नेटो सदस्य देशहरुलाई बलियो बनाउन उनी युरोपमा सेना पठाइरहेका छन् र त्यहाँ पहिले नै तैनाथ सैनिकलाई अर्को ठाउँमा तैनाथ गरिरहेका छन् । बाइडेन प्रशासनका अनुसार कुनै समय सोभियत युनियनका सदस्य रहेका यी देशहरुलाई आश्वस्त गर्नको लागि यसो गरिएको हो । यी देशहरु पुटिनले आफ्नो व्यापक लक्ष्य अन्तर्गत नेटोलाई पूर्वी युरोपबाट सेना हटाउन दबाब दिन्छन् भन्ने कुराले डराइरहेका छन् ।

तर, यही हप्ता युक्रेनमा भएको आक्रमणले व्यापक संघर्षका आशंका जन्माएको छ । यो व्यापक संघर्ष या त दुर्घटनावश सुरु हुन सक्छ वा रुसको आक्रमणका कारण ठूलो रुप लिन सक्छ । यदि यस्तो भयो भने यसबाट ठूलो संघर्षको सुरुवात हुन सक्छ किनकि त्यतिबेला यो युद्धमा नेटो सदस्य देशहरुलाई उतार्नु पर्नेछ र त्यो अवस्थामा अमेरिका सिधा युद्धमा आउनुपर्नेछ । बाइडेनले पहिले नै रुसतिर इशारा गर्दै भनेका थिए ‘यदि उनीहरुले नेटो देशमा कदम राख्छन् भने हामी पनि युद्धमा होमिनुपर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *