त्रियुगा नगरको आठौं नगर सभामा दूरगामी महत्त्वका योजनामाथि व्यापक छलफल

डिसी नेपाल
१४ फागुन २०७८ १९:०९
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको आठौं नगर सभामा दूरगामी महत्त्वका योजनामाथि छलफल भएको छ । सभामा नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रभित्रका ऐलानी, पर्ती रहेका जमिन र अव्यवस्थित बसोबासको जग्गा व्यवस्थापन, त्रियुगा नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा स्तरोउनन्ती गर्न विकास गर्ने कार्य योजना, नगर क्षेत्रमा बिजनेस सेन्टरलगायतका भौतिक संरचनाको निर्माणको लागि नगर विकास कोषबाट ऋण लिने, उदयपुर मेडिकल कलेजको स्थापना र थ्रीपीपी मोडलमा सिमेन्ट उद्योग स्थापना लगायतका दूरगामी महत्त्वका प्रस्तावहरू व्यापक छलफल गरी नगर सभाले पास गरेको छ ।

उनले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै ऐलानी जग्गा व्यवस्थापन, जनतासँग मेयर कार्यक्रम, धुवाँरहित चुल्हो आमाको स्वास्थ्य ठूलो, फोहोर व्यवस्थापनका लागि काम भइरहेको जानकारी दिए ।

नगर प्रमुख चौधरीले विगत पाँच वर्षका अवधिमा त्रियुगा नगरपालिकाले सम्पन्न गरेका प्रमुख कार्यलाई उपलब्धिको रूपमा लिएको बताउँदै समग्र आर्थिक अवस्थाबारे संक्षिप्त चर्चा गरे । २०७४ साल साउन १ गते शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका जनप्रतिनिधिले उज्यालो नगर कार्यक्रमअन्तर्गत प्रत्येक वडा तथा बस्तीमा विजुलीबत्ती र सौर्य बत्ती पुर्‍याउनुका साथै नगरको गौरवको योजनाको रूपमा, बेताल सिँचाई योजना, बबिया खोला बाँध निर्माण, सुकौरा वडा कार्यालय, बेलदोभान सडक, सौर्य सडक बत्ती, उदयपुर गोल्डकप, कृषि बजार, त्रियुगा, बरुवा नदी नियन्त्रण, कालोपत्रे र सडक ग्राभेल लगायतका विभिन्न सडक, थरुहट रंगशालाको निर्माण, अभरमा नगर जस्ता विपत्तमा राहत दिने कार्यक्रमहरूबाट नगरवासीले प्रत्यक्ष रूपमा फाइदा लिएको बताए ।

स्वास्थ्य शिक्षित उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर भन्ने मूल नारासहित विषय विज्ञद्वारा नगरको पञ्च वर्षीय आवधिक योजना तयारी पारिएको जानकारी गराए । नगरले अपराधमुक्त समाज निर्माणका लागि नगर देखि घर सम्म अभियान चलाए । बजार क्षेत्रमा आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न सिसि क्यामेरा जडान गर्ने काम गरेको जनाए । एक वडा एक उत्पादन सबै वडामा सहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको उल्लेख गरे । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको चार वर्षको अवधिमा करिब साना तथा ठुला गरी ३ हजार ५ सय योजना निर्माण सम्पन्न भएको उल्लेख गरेको छ ।

खानेपानीको समस्यालाई समाधान गर्न नयाँ गाईघाट खानेपानी योजना सञ्चालनको तयारीमा रहेको सभालाई जानकारी गराएको थियो । कतिपय नगर गौरवको योजना सङ्घीय सरकारले कानुन निर्माण नगरेका कारण सञ्चालन हुन नसकेको स्पष्ट पारे । त्यस मध्ये बेलदोभान रौता केबलकार, सौर्य ऊर्जा उत्पादन गर्ने जस्ता आयोजना कानुन अभाबमा सञ्चालन हुन नसकेको नगर सभालाई जानकारी गराए ।

त्यसका लागि सबै काम र लगानीका लागि तयार हुँदा समेत कानुन अभाव देखाएर मन्त्रालयले फायल रोकी दिएको नगर प्रमुख चौधरीले बताए ।  उनले कृषिमा यान्त्रीकरणले कृषकहरूको जीवनस्तर उकास्न मदत पुगेको बताउँदै कोभिडको कहरमा हर बखत नगरवासीको साथ रहेको बताए ।

नगर सभामा बोल्दै प्रमुख चौधरीले स्थानीय शासन प्रणालीलाई संस्थागत गर्न, शासकीय प्रबन्ध क्षमता अभिवृद्धि गरी स्थानीय सरकारको अनुभूति गराउन क्षेत्राधिकार भित्र रहेका विभिन्न विषयसँग सम्बन्धित ११ वटा ऐन, ४७ वटा नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड बनाएर काम गरेको उल्लेख गरे ।

जनप्रतिनिधि निर्वाचित हुन अघि त्रियुगा नगरपालिकाको आन्तरिक आम्दानी २ करोड ५७ लाख रहेको जनप्रतिनिधि आएपछि पाँच वर्षमा आन्तरिक आम्दानी ११ करोड पुर्‍याउन सफल भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *