सहिद मुक्सन किरातको सालिक अनावरण

डिसी नेपाल
१६ फागुन २०७८ २१:१३

खोटाङ । खोटाङमा सहिद मुक्सन किरातको सालिक अनावरण गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षबाट २४ असोज २०५९ मा हत्या गरिएका मुक्सनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा सालिक अनावरण गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलव्ध गराएको ६ लाखमा स्थापना गरिएको सालिक सोमबार प्रतिनिधिसभा सदस्य एवं एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनावरण गरेका हुन् । सहिद किरातको ४५औं जन्मदिनको अवसर पारेर उनकै जन्मथलोमा सालिक अनावरण गरिएको हो ।

सहिद मुक्सनको सालिक अनावरण कार्यक्रममा सहिद माता सम्पूरा राईलाई सम्मान गरिएको छ । सहिद मातालाई सहिद मुक्सन किरात स्मृति केन्द्रले दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरेको हो । सहिद पिता वीरबहादुर राईको गत वर्ष निधन भइसकेको छ । सालिक अनावरण कार्यक्रमका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायतको टोली लफ्याङ पुगेको थियो ।

नेकपा एमालेको तत्कालीन जिल्ला जिल्ला परिषद् सदस्य एवं अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्य रहेका किरातको २४ असोज २०५९ मा हत्या भएको थियो । किरातलाई माधव नेपाल प्रधानमन्त्री भएको बेला २०५९ सालमा सहिद घोषणा गरिएको थियो । किरात अपहरणमा परेकै बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढुंगे भन्ने ठाउँको खेतपुछारमा रहेको उत्तिसघारीमा मृत फेला परेका थिए ।

जन्तरे भाइ विकल्प किरातका अनुसार मुक्सनलाई अपरिचित तीन जनाको समूहले बिहान घरबाट अपहरण गरेका थिए । किरातको शव धारिलो हतियार प्रयोग गरेको र दुवै हातमा रातो कपडाले बाँधेको अवस्थामा भेटिएको सहिद मुक्सन किरात स्मृति केन्द्रका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ बताउँछन् ।

सशस्त्र द्वन्द्व कालमा एमाले नेता भट्टराई (हाल प्रतिनिधिसभा सदस्य), रामप्रसाद दंगाल, शिवराज राई, नवीन राई लगायतका नेता पनि अपहरणमा परेका थिए । अन्य नेता अपहरणको केही समयपछि अपहरणमुक्त भए तर २४ भदौ २०५९ मा अपहरणमा परेका भट्टराई ७ कात्तिकमा मात्र अपहरणमुक्त भएका थिए ।

त्यही समयमा मुक्सनको अपहरण लगत्तै हत्या भएको थियो । मुक्सनको हत्या भएको खबर रेडियोबाट सुनेको भट्टराई सम्झन्छन् । ‘२०५९ असोज २४ का दिन हामी माओवादी अपहरणको अज्ञात मुकाममा रहँदा एउटा दुःखद खबर सुनियो–एमाले कार्यकर्ता मुक्सन किरातको हत्या भयो,’ प्रतिनिधिसभा सदस्य भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आज फागुन १६ गते उनै मुक्सन किरातको ४५औं जन्मदिनको सन्दर्भमा सालिक अनावरणसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *