हास्य कलाकार युक्रेनी राष्ट्रपति जो युक्रेन-रुस युद्धमा नायकका रूपमा उदाएका छन्

डिसी नेपाल
२२ फागुन २०७८ ६:४८

बीबीसी। राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बने। अहिले अकस्मात् उनी विश्वसनीय युद्धनायकका रूपमा उदाएका छन्।

उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अतिक्रमणविरुद्ध विद्यमान युक्रेनी आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्‌झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले ‘नरसंहार’ मच्याएको आरोप लगाएका छन्। उनले युक्रेनलाई ‘नाजीकरण’ बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन्।

यी अभिमतहरूले बुद्धिजीवीसहित धेरै आलोचकहरूले नदेखेका एउटा पक्ष बाहिर ल्याएको छ। मत सर्वेक्षणहरूमा सङ्घर्ष गरिरहेका जेलेन्स्की रुसले अतिक्रमण थाल्नु केही घण्टाअघि मात्रै राष्ट्रिय व्यक्तित्वका रूपमा रूपान्तरित भइसकेका थिए।

सामाजिक सञ्जालमा राखिएको एउटा संयमित सम्बोधनमा आंशिक रूपमा रुसी भाषा प्रयोग गरेर बोल्दै उनले आफूले युद्ध रोक्न भ्लादिमिर पुटिनसँग फोनमा वार्तालापको प्रयास गरेपनि उत्तर नपाएको बताए।

दुवै देशलाई कुनै प्रकारको युद्ध आवश्यकता भएको उनले पृष्ठभूमिमा युक्रेनको नक्सा भएको स्थानमा भनेका थिए। उनले युक्रेनीहरूलाई आक्रमण गरिए आफ्नो रक्षा गर्ने बताएका थिए। “तपाईँले हामीलाई आक्रमण गर्नुभयो भने हाम्रो अनुहार देख्नुहुन्छ हामी पिठिउँ फर्काउनेछैनौँ, सामना गर्नेछौँ।”

आक्रमण सुरु भएको केही समयपछि आफ्नो अर्को त्यस्तो सम्बोधनमा उनी सैनिक पोसाकमा उपस्थित भएर डेभिड र गोलियाथको मिथक सुनाउँदै कमजोर र बलशालीबीचको सङ्घर्षको चर्चा गरेका थिए। त्यो साँझ उनले अर्को सम्बोधन गर्दै पश्चिमा नेताहरूले उनीहरूले सहयोग उपलब्ध नगराए एक दिनभित्रै “युद्ध ढोकामै आइपुग्ने” चेतावनी दिएका थिए।

नभोय भ्रेमया समाचार वेबसाइटकी प्रधानसम्पादक युलिया मकगफीले सन् २०१९ को एप्रिलमा जेलेन्स्की राष्ट्रपति चुनिएपछि आफू दुःखी भएको बताउँछिन्। उनले त्यसले सरकारको नेतृत्व गर्ने उनको क्षमतामा आफूलाई विश्वास नलागेको बताउँछिन्। तर पछिल्ला दिनमा युक्रेनीहरूले आफ्ना राष्ट्रपतिलाई न्यानो समर्थन गरेका छन्।

“मलाई लाग्छ रुसले युद्ध सुरु गरिसकेपछि सबै युक्रेनीहरू जेलेन्स्कीको वरपर गोलबन्द भएका छन्। आफैँ उदाहरण बनेर उनले अरूलाई एकताबद्ध बनाउँदै प्रेरणादायी भूमिका खेलिरहेका छन्। पुटिनको सेनालाई अघि बढ्नबाट रोकिरहेको सरकारको नेतृत्व उनले गरिरहेका छन् र त्यसका लागि धेरैले उनको प्रशंसा गरिरहेका छन् र सम्मान गर्दैछन्।” राजनीतिमा जेलेन्स्कीको उदय पनि कलासँग जोडिएको छ।

हास्य कलाकारका रूपमा उनको सबैभन्दा चर्चित भूमिका सर्भेन्ट अफ द पीपल नामक टेलिभिजन शृङ्खलामा छ जसमा उनले शिक्षकको भूमिका निर्वाह गरेका छन्। राजनीतिमा व्याप्त भ्रष्टाचारबारेको उनको एउटा भाइरल भिडिओ उनका एक विद्यार्थीले पोस्ट गरिदिएपछि ती शिक्षकको बाटो राजनीतितर्फ मोडिएको कथा उक्त शृङ्खलामा देखाइएको छ।

सन् २०१९ को राष्ट्रपतीय चुनावमा उनले दिएको उम्मेदवारीलाई पनि कतिपयले ठट्टाको रूपमा लिए। उनको दलको नाम जनताको नोकर अर्थात् सर्भेन्ट अफ द पीपल पार्टी हो। तर भ्रष्टाचारविरुद्ध लड्ने र देशको पूर्वमा शान्ति ल्याउने प्रतिबद्धता जनाएका उनले खसेको मतमध्ये ७३ प्रतिशत ल्याए।

युक्रेनका राष्ट्रपतिसँग महत्त्वपूर्ण शक्ति भएपनि त्यसलाई व्यवहारमा लागु गर्न कठिन छ, सञ्चार परामर्शदाता यार्याना क्ल्यूचस्कोभ्स्का भन्छिन्। चुनावमा प्रतिबद्धता जनाउनु र निर्वाचित भएर त्यसलाई कार्यान्वयन गर्नु जेलेन्स्कीका लागि पनि एउटा चुनौती थियो।

सत्तासँग निकट धनाढ्य इहोर कोलोमोइस्कीको समर्थन जेलेन्स्कीलाई आफ्नो चुनावी अभियानमा रहेको थियो। त्यस कारण धेरैले उनी संयुक्त राज्य अमेरिकाले सम्भावित ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरिरहेका एक व्यक्तिको कठपुतली बन्ने आशङ्का व्यक्त गरेका थिए।

तर आफ्ना आलोचकहरूले ठानेकोभन्दा उनी धेरै स्वतन्त्र देखिए। उनले राष्ट्रियकरण हुनुअघि कोलोमोइस्कीको स्वामित्वमा रहेको प्राइभाटब्याङ्कलाई पुनः निजीकरण गर्न अस्वीकार गरेका थिए। युक्रेनमा भ्रष्टाचारले दह्रो ढङ्गले जरा गाढेको छ र सत्तासँग निकट धनाढ्यहरूलाई लक्षित गरेको कानुनले त्यस्ता केही व्यक्तिहरूलाई नियमन गर्ने र अरूलाई नगर्ने आशङ्काहरू व्यक्त भएका छन्।

जेलेन्स्कीका मूख्य राजनीतिक प्रतिद्वन्द्वी पेट्रो पोरोसेन्कोविरुद्ध लगाइएका आरोपहरू राजनीतिक रूपले पूर्वाग्रही रहेका कतिपय पश्चिमा अधिकारीहरूले बताउँदै आएका छन्। झन्डै १४ हजार जनाको ज्यान लिनेगरी पूर्वी युक्रेनमा भएको द्वन्द्वको समाधान खोज्न रुससँग वार्ता गर्ने उनको प्रयासले सीमित सफलतामात्रै हात पारेको थियो।

केही बन्दीहरू साटिएका थिए भने शान्ति प्रक्रियाको एउटा अङ्ग रहेको मिन्स्क सम्झौताको कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि भएन। सन् २०२०मा उनको जनमत निरन्तर ओरालो लागिरह्यो।

त्यसपछि जेलेन्स्कीले युरोपेली सङ्घ र नेटो सैन्य गठबन्धनको सदस्यताको विषयलाई अझ जोडतोडले उठाए। उक्त कदमले रुसी राष्ट्रपतिलाई आक्रोशित बनाउने प्रष्टै थियो। विवादास्पद धनाढ्य इहोर कोलोमोइस्कीसँग उनी जोडिएका छन्

तर यार्याना क्ल्यूचस्कोभ्स्काका अनुसार पूर्वी युक्रेनको द्वन्द्व र रुससँगको सम्बन्धबारे जेलेन्स्कीका भनाइ धेरै युक्रेनीले केही दिनअघिसम्म पनि साहसिक लाग्दैनथ्यो। युद्धको चर्चा चर्किँदै जाँदा उनले शान्ति दिवसको घोषणा गरे र युक्रेनतर्फ अग्रमोर्चामा निरन्तर युद्धविरामको उल्लङ्घन भइरहँदा पनि उनले कूटनीतिक समाधानमा जोड दिइरहे।

“उनले युद्ध, लडाइँ र कुनै पनि सैनिक विषयवस्तु छलिरहे। त्यो उनले आफूले सहज महसुस गर्ने क्षेत्र थिएन र त्यसबारे उनी सार्वजनिक टिप्पणी गर्न पनि चाहँदैनथे।” अमेरिका र अरू पश्चिमा सरकारहरूले रुसबाट हमला अवश्यम्भावी रहेको चेतावनी दिइरहँदा उनले अमेरिकी सञ्चार रणनीति “युक्रेनका लागि महँगो” पर्न सक्ने चेतावनी दिएका थिए।

तर म्युनिख सुरक्षा सम्मेलनमा फेब्रुअरी १९ मा गरेको सम्बोधनपछि उनको भाषा बदलियो। त्यसपछि आफू जेलेन्स्कीको प्रशंसक बनेको क्ल्यूचस्कोभ्स्का बताउँछिन्। आफ्नो सम्बोधनको सुरुमा उनले देशको पूर्वमा रहेको एउटा पूर्व प्राथमिक विद्यालयको भ्रमणको सन्दर्भ जोडेका थिए। केही दिन पहिले मात्रै उक्त विद्यालय क्षेप्यास्त्र हमलामा परेको थियो।

“हात बाँधेर बस्दा तपाईँको पनि साथ रहेको ठहर्छ,” पश्चिमा कूटनीतिज्ञ तथा प्रतिरक्षा अधिकारीहरूसँग उनले भने। उनले १५ वर्षअघि त्यही सम्मेलनमा भ्लादिमिर पुटिनले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई अस्वीकार गरेको र रुसको पुन: उदय हुनेमा जोड दिएको कुरा सम्झाए। “विश्वले कसरी प्रतिक्रिया जनायो? तुष्टीकरण गरेर।”

क्ल्यूचस्कोभ्स्काले कुनै पनि युक्रेनी नेताले विगतमा पश्चिमा शक्तिसामु त्यति प्रष्ट नबोलेको बताइन्। युलिया मक्गफी पनि त्यसमा सहमत छिन्। उनले भनिन्, “त्यो क्षणपछि जेलेन्स्कीका युक्रेनमा रहेका राजनीतिक प्रतिद्वन्द्वीहरूले अहिले झगडा र द्वन्द्वको समय होइन भन्ने निर्णय गरे।”

पश्चिमा गुप्तचरहरूले रुसी फौजहरूले ज्यान लिने सूचीको पहिलो नम्बरमा जेलेन्स्कीको नाम रहेको दाबी गर्दै आएका छन्। जेलेन्स्कीले आफ्नो परिवार दोस्रो नम्बरमा रहेको बताएका छन्। तर उनी र उनका परिवार युक्रेनमा नै छन्। राष्ट्रपति भवन परिसरबाहिर खिचिएका भिडिओ सेल्फीहरूले पनि उनको उपस्थिति पुष्टि गर्छ।

ब्रिटिश लेखक बेन जुडाले ट्विटरमा लेखेका छन्, “यदि तपाईँहरूले पेल (यहुदीहरू भरभित्रै बस्ने रुसी साम्राज्यको क्षेत्र) कालका हाम्रा जिजुबुवाआमालाई एक यहुदी पुरुष रुसी अतिक्रमणविरुद्ध युक्रेनी युद्धनायक बन्छन् भनेको भए उनीहरूले पत्याउँदैन थिए।”

क्ल्यूचस्कोभ्स्काले जेलेन्स्की अभिनेता भएको भन्दै उनको वास्तविक रूप अहिलेको हो या होइन आफूले भन्न नसक्ने बताइन्। “तर जे भए पनि त्यसले काम गरिरहेको छ। उनको भाषणका लेखकहरूले उपलब्धि हासिल गरिरहेका छन्। उनीहरू मनोरञ्जन उद्योगबाट आएका हुन् तर नेटफ्लिक्सको शोका लागि लेख्नु र राष्ट्रपतिको भाषण लेख्नु फरक हो।”

युक्रेनका सामु अहिले पनि ठूला चुनौतीहरू छन्। रुसको अतिक्रमण गर्ने शक्ति भीषण र अस्त्रशस्त्रले सुसज्जित छ। तर ४४ वर्षका कानुनी स्नातक र नवराजनीतिकर्मीले युक्रेनीहरूको मनोबल उकास्ने आवाज फेला पारेका छन्।

“मेरा एकजना नजिकका साथीले भर्खरै लेखेका छन्ः जेलेन्स्कीको छवि अकस्मात् अलौकिक रूपमा बढेको छ,” मक्गफी भन्छिन्, “अनि यसले अहिले उनलाई हेर्ने धारणाको वास्तविक प्रतिनिधित्व गर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *