गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोलीद्वारा भरत तालको भ्रमण

डिसी नेपाल
२२ फागुन २०७८ १७:४१

सर्लाही । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सर्लाहीको बागमतीमा रहेको निर्माणाधीन भरत तालको अवलोकन भ्रमण गरेका छन् । आइतवार मुख्यमन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न स्थानको भ्रमणका क्रममा सर्लाहीको बागमतीस्थित भरत तालमा आईपुगेका थिए । १८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोली बागमती आइपुगेको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए ।

मुख्यमन्त्रीको भ्रमण टोलीको भ्रमण नेतृत्व मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेका थिए ।

सोही समयमा मुख्यमन्त्री राउतले मधेश प्रदेश भ्रमणको निम्ता दिए थिए । सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएकोे मुख्यमन्त्री नेपालीले बताए । मुख्यमन्त्री नेपालीको टोलीले भरत तालमा रहेको मिनी क्रुजमा केही समय सयर गरेको थियो ।

सोही क्रममा मुख्यमन्त्री नेपालीले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविश्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिए । ताल भ्रमणपछि पत्रकारहरूसगँ कुरा गर्दै मुख्यमन्त्री नेपालीले संघीयतालाई मजबुत बनाउन प्रदेशको पहिचान र हैसियत देखिनु पर्छ भन्ने कुरामा आफु विश्वस्त भएको बताए ।

यसको लागि अन्तर प्रदेशीय सरकारहरूको सद्भाव यात्रा जरुरी रहेको ठानेर मधेश प्रदेशका सरकार प्रमुखलाई आफ्नो प्रदेश भ्रमण गराएको उनकाे भनाइ थियो । र, सोही अभियानअन्तर्गत आफु मधेश प्रदेश आइपुगेको बताए । तालको भ्रमणका क्रममा आफुले मधेश प्रदेशमा विकासको लागि जनप्रतिनिधि र जनतामा विकासको लागि जुर्मुराहट रहेको महसुस भएको मुख्यमन्त्री नेपालीको भनाइ थियो ।

यस्तै जनकपुर-पोखरा सिधा हवाई उडानले दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने उन्को भनाइ छ । जनकपुरधाम ऐतिहासिक पवित्र धार्मिक तिर्थस्थल र पोखरा जस्तो पर्यटकीय स्थललाई हवाई मार्गमा जोड्ने बित्तिकै दुवै स्थानमा आएका पर्यटकले सजिलै पोखरा र जनकपुरधामको भ्रमण गर्न सक्ने उनले विश्वास व्यक्त गरे । ‘मलाई के विश्वास छ भने जनकपुरबाट गएका पर्यटक जोमसोम सम्म पुगेर फर्कने छन्,’ उनले भने ।

शनिबारबाट सुरु भएको पोखरा–जनकपुर सिधा हवाई उडानमार्फत जनकपुर उत्रिएका मुख्यमन्त्री नेपालीले मधेशका सरकार र जनताको स्वागत अत्यन्त अविश्मरणीय रहेको बताए । ‘मधेश प्रदेशका जनता र सरकारले आफुहरूलाई गरेको स्वागत, गण्डकी प्रदेश सरकार र जनतालाई गरेको स्वागतको रुपमा हामीले सम्झेका छौँ,’ उनले भने, ‘यसबाट म लगायत गण्डकी प्रदेशनै भावनात्मक भएका छौँ ।’

मुख्यमन्त्री नेपाली मधेश प्रदेशका विभिन्न धार्मिक एवं एतिहासीक स्थलहरुको भ्रमण गर्दै आइतबार सर्लाही आईपुगेका हुने । मुख्यमन्त्रीको टोली रौटहटको नुनथर क्षेत्रको अवलोकन भ्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *