नारी दिवस : हात्तीको हेरचाह र गस्तीमा खटिने अमृता भन्छिन्- वन्यजन्तुको संरक्षणमा महिला कम छैनन्

डिसी नेपाल
२४ फागुन २०७८ ९:४६

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरिन्छ। निकुञ्ज प्रशासनले नेपाली सेनाको सहकार्यमा साइकल, हात्ती, जीप र डुंगामार्फत् गस्ती गर्छ। याे कार्यमा पछिल्लो समय महिला सहभागिता पनि बढ्दै गएको छ।

कसरा हात्तीसारमा माहुतेको रुपमा हात्तीको हेरचाह गर्दै आएकी अमृता महतो वन्यजन्तुको संरक्षण होस् या गणना नियमित रुपमा गस्तीमा जाने गर्छिन्। मेघौली घर भएकी उनले हात्ती चराउने, हात्तीको गोठ सरसफाइ गर्ने, दाना खुवाउने र गस्ती गर्ने काम गर्न थालेको पाँच वर्ष भयो।

कसरा हात्ती सारमा ६ वटा हात्ती छन्। एउटा हात्तीको हेरचाहमा तीन जना हात्तीसारे खटाइन्छ। सुरुमा उनले हात्ती प्रजनन केन्द्र खोरसोरमा काम गर्थिन्। ‘खोरसोरमा हात्तीको तालिम लिएर हात्तीको कमाण्डर भएर सौराहा गएँ । खोरसोरमा ६ महिना बसेँ । सौराहामा एक वर्षजति बसे’, उनले भनिन्।

सौराहामा पनि हात्तीलाई सिकाउने, हात्तीको गोठालो जाने, घाँस काटेर ल्याउने र हात्तीको स्याहारसुसार गर्ने गरेको उनले बताइन्। पछिल्लो पटक उनले कसरामा गर्न थालेको चार महिनाजति भयो । उनी भन्छिन्, ‘हात्ती चराउन लैजाँदा जंगली हात्ती धुव्रे, रोनाल्डो भेटिन्छ। बाघ र गैंडा पनि भेटिन्छ।’

जंगली हिंस्रक हात्ती पालुवा हात्तीको नजिक आएपछि आफूले हात्तीलाई तर्काएर हिँडाल्नुपर्ने उनी बताउँछिन्। ‘जंगली हात्ती नजिकै आएको देखेपछि आफ्नो हात्ती भगाउनुपर्छ। जंगलभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्छ। महिलाले गर्नै नसकिने भन्ने चाँहि होइन’, उनले भनिन्। हात्तीसारे चौविसै घण्टा ड्युटिमा खटिनुपर्छ।

परिवारमा श्रीमान, दुई छोरी, एक छोरा र सासु छन्। श्रीमानले गाउँघरतिरै सवारी चालकको काम गर्छन्। श्रीमानसँगको सहमतिमा नै आफूले हात्ती हेरचाहकाे काम गरिरहेको उनी बताउँछिन्। चाडपर्व र विशेष काम परेको बेला घर जाने गरेको उनले बताइन्।

तालिम लिएर काम सिकेपछि हात्तीको हेरचाह गर्न कुनै कठिनाई नहुने उनी बताउँछिन्। उनले बिहान हात्तीको गोठ सफा गर्छिन्। त्यसपछि हात्ती लिएर उनी घाँस काट्न जान्छिन्। घर आएपछि हात्तीसारे मिलेर घरआगन सफा गर्ने र खाना पकाउने गर्छन्।

कहिलेकाँही दिनभरी र रातभर पनि हात्ती गस्तीमा हिँड्नुपर्ने उनी बताउँछिन्। एक पटक गस्ती गर्दा पाँच देखि १२ वटासम्म हात्ती प्रयोग हुन्छन्। सिउ गस्तीमा जाँदा धेरै हात्ती लगिन्छ।

चोरी सिकारी नियन्त्रण र जंगलमा मरेका वन्यजन्तुको अनुगमन गर्दा सिउ गस्ती गरिन्छ। आवश्यकताका आधारमा निकुञ्जको सबै क्षेत्रमा गस्ती जानुपर्ने उनले बताइन्।

उनी गैंडा गणना गर्दा पनि गस्तिमा खटिएकी थिइन्। त्यतिबेला २२ दिनसम्म हात्ती लिएर गस्तिमा गएको उनले बताइन्। गैंडा गणनामा खटिएका ३० वटा हात्ती सम्मिलित एउटा समूहमा उनी एक्लो महिला माहुते थिइन्।

तीन वर्षअघि कसरा हात्तीसारमै काम गर्दा देवीकली र तमोरकली हात्तीको गोठालो जाँदा धुव्रे हात्तीसँग जम्काभेट भएको उनले सम्झिइन्।

‘घडगाई पोष्टमा धुव्रेसँग जम्काभेट हुँदा हामी ज्यान बचाउन हात्तीबाटै हामफालेर पोष्ट भित्र छिरेका थियौँ’, उनले भनिन्, ‘धुव्रे दौडिएर हामी चढेकै हात्तीतिर आइरहेको थियो। हात्तीमाथि नै बसिराख्दा हाम्रो ज्यान जोखिममा पर्छ भन्ने भएपछि हामी हामफालेर पोष्टमा गएर ज्यान बचायौँ।’

धुव्रे हिंस्रक जंगली हात्ती हो। यसले अहिलेसम्म नेपाल र भारतका गरी १६ मान्छेको ज्यान लिइसकेको छ। एकचोटी हात्तीलाई घाँस काट्न जाँदा जंगली हात्ती रोनाल्डोले लखेटेको पनि उनले बताइन्।

‘अस्ती भर्खरै गस्तीमा जाँदा नजिकै दुई वटा चितुवा भेट्यौँ। गस्तिमा जाँदा बाघ, हात्ती, गैंडा त भेटिरन्छन्। अब त सामान्य जस्तो भइसक्यो’, उनले भनिन्।

हात्तेसारे पालैपालो गस्तिमा जाने गर्छन्। महिनावारी हुँदा महिलालाई गस्तीमा जान गाह्रो हुने उनले बताइन्। ‘महिनावारी हुँदा दुई-तीन दिन महिलालाई गाह्रो हुन्छ। ब्लिडिङ भइरहेको हुन्छ। त्यतिबेला चाँहि हामीले रेष्ट गर्न पाउछौँ’, उनले भनिन्।

गौरी गाईको गणना हुँदा पनि उनी गस्तीमा गएकी थिइन्। त्यतिबेला तीन दिन गस्तीमा गएको उनले बताइन्। पाँच वर्षमा प्रेरणाकली, देवीकली, तमोरकली, लक्ष्मीकली र अम्बेकली गरी पाँच वटा हात्ती चलाएको उनी बताउँछिन्।

‘अरुले चलाएको हात्ती मैले चलाउन सक्दिन र मैले चलाइरहेको हात्ती अरुले चलाउन सक्दैन’, उनले भनिन्। जंगली हात्ती देखेपछि घरपालुवा हात्तीले आवाज दिएर संकेत दिन्छ। क्षमताको विकास गर्न सके महिलाले पनि हात्ती चलाउन सक्ने उनले बताइन्।

पछिल्लो १० वर्ष देखि मात्रै महिलालाई पनि हात्ती सारेमा राख्ने गरिएको हो। हात्ती सारेको लागि महिलालाई छुट्टै कोटाको व्यवस्था गरिएको छ। तर महिलाई कम सिटको व्यवस्था गरिएको उनी बताउँछिन्।

‘एक पटकमा तीन जना महिलाको लागि मात्रै भनेर सिट छुट्याइन्छ। पुरुषहरु भने १५ देखि २० जनासम्म पनि हुन्छन्’, उनले भनिन्। धादिङ त्रिपुरासुन्दरीकी पार्वती थापा पनि वन्यजन्तुको संरक्षणको लागि निकुञ्जभित्र नियमितजसो गस्तिमा जाने गर्छिन्।

गैंडाको खाग चोरी निकासीमा संलग्नलाई पक्रेर ल्याउँदा रातभर खोलाको किनारमा बस्नुपरेको उनको नराम्रो किस्सा छ। चार महिनाअघि माडी घाँघरका एक जना प्रतिवादी लिएर फर्किने क्रममा खोला बढेर रातभर खोलामा बास बसेको उनले सुनाइन्।

‘दुई जना प्रतिवादीलाई लिन गएका थियौँ । एक जना भागिहाल्यो । एक जनालाई चाँहि समात्यौँ’, उनी भन्छिन्, ‘राति ११ बजेतिर गएका थियौँ । पानी ठूलो परेको थियो । जाँदा त जसोतसो खोला तर्यौं। फर्किदा चाँहि तर्न सकेनौँ। हामीसँग चोर पनि संगै थिए । रातभर खोलामै बसेर बिहान ४ बजेतिर बल्ल आयौँ।’

निकुञ्जको हेडक्वार्टर कसरामा बसेर गेम स्काउटको रुपमा काम गरिरहेकी उनी निकुञ्जको सबैजसो स्थानमा गस्ती गएकी छन्। डुंगा, साइकल र जीपमा गस्तिमा जाने गरेको उनले बताइन् । त्यस्तै राप्तीमा राति राति माछा मार्ने मान्छेलाई पक्राउ गर्न जाँदा गैंडासँग जम्काभेट भएको उनले स्मरण गर्छिन्।

‘हामी आर्मी र प्रशासनको टिम भएर डुंगामा जाँदै थियौँ । हामीले त गैंडा नै देखेका थिएनौँ। बच्चासँगको गैंडा रहेछ। आर्मीको डुंगामा ठोक्किएर बच्चा चाँहि जंगलतिर गयो । माउ पनि बच्चाकै पछि लाग्यो । बच्चा हामितिर आएको भए के हुन्थ्यो थाहा छैन’, उनले भनिन्।

वन्यजन्तु संरक्षण गतिविधिमा महिला सहभागीता बढ्दो क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेशप्रसाद तिवारी बताउँछन्। वन्यजन्तु संरक्षणका लागि लोकसेवा आयोगले नै निश्चित कोटाको व्यवस्था गरिदिएको उनले बताए।

‘लोकसेवाको कोटासँगै खुला रुपमा आउने महिलाको संख्या पनि बढ्दो छ’, उनी भन्छन्, ‘महिला स्काउटमा हुनुहुन्छ। रेन्जरमा हुनुहुन्छ। महिला अफिसर पनि हुनुहुन्छ । पछिल्लो समयमा संरक्षणमा चाँहि महिलाको सहभागीता र सक्रियता बढ्दो क्रममा छ भन्न सकिने अवस्था छ।’

चितवन निकुञ्जमा हाल कार्यरत तीन सय कर्मचारीमध्ये २६ महिला छन्। न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *