जाने होइन त बागलुङको कालिका भगवती मन्दिर ? (भिडियोसहित)

डिसी नेपाल
२५ फागुन २०७८ १५:५८

काठमाडौं । ऐतिहासिक कालिका भगवती मन्दिर बागलुङको बागलुङ नगरपालिका–२ मा अवस्थित छ । कालिका भगवती मन्दिर, जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ । कालिका भगवती मन्दिर पश्चिम नेपालको बाग्लुङ शहरको दक्षिण–पूर्वमा अवस्थित एक महत्वपूर्ण हिन्दू मन्दिर हो। यो बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्ग बजारदेखि दक्षिणतिर कालीगण्डकी र काठे खोलाको दोभान माथिको टापुमा वनभित्र कालिका भगवतीको मन्दिर रहेको छ ।

मन्दिरमा बडादशै र चैत्राष्टमीमा विशेष मेला लाग्ने गर्दछ । भक्तहरूले देवीको आशीर्वाद प्राप्त गर्ने विश्वासका साथ तेलको दियो प्रज्वलन गरि पूजा, अनुष्ठान गर्नुका साथै यहा धेरै अविवाहितहरु विवाह गर्न पनि पुग्ने गरेका छन् । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।

बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

स्थानीय लोककथा अनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले वि।सं। १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

मण्डपको छेउमा शिवलिङ्ग र गणेशको पनि स्थापना गरिएको छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा बलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ । परम्परागत रूपमा भक्तहरूले आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ मन्दिरमा जीवित पशु बलि दिने गरिन्छ ।

१३ अप्रिल २०१६ बाट परेवा शान्तिको प्रतीक हो भन्ने आधारमा परेवाको बलिदान भने रोक लगाइएको छ । परेवाहरू को बली दिनुको सट्टा मन्दिरमा यसै छाडिदिने प्रचलन रहेको छ ।

धार्मिक तथा पर्यटकीय गन्तव्य रहेको मन्दिर हजारौँ दर्शनार्थी आउने पश्चिमाञ्चलकै प्रसिद्ध मन्दिर मध्य एक हो । १ सय ९० रोपनी क्षेत्रफलमा फैलिएको पाँच सय वर्ष पुरानो मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ ।

भिडियोमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *