क्रिमियाको बाटो भएर रुसको खुफिया अपरेशन, किभमा ‘निर्णायक’ आक्रमणको तयारी

डिसी नेपाल
२५ फागुन २०७८ १६:५४
10.1k
Shares

काठमाडौं। रुस र युक्रेनबीच युद्ध भएको १४ दिन भइसकेको छ तर अझैसम्म यो युद्ध कुनै परिणाममा पुगेको छैन । लम्बिँदै गएको युद्ध र युक्रेनको राजधानी किभमा नियन्त्रण गर्न नसकेका कारण रुसले अब आफ्नो रणनीति बदल्नु परेको छ । लुहान्स्क र दोनेत्स्कमा युक्रेनी सेनाको जवाफी कारवाहीपछि अब रुसी सेनाले क्रिमियाको बाटो भएर किभमा ‘निर्णायक’ आक्रमण गर्ने तयारी गरिरहेको छ ।

रुसको रक्षा मन्त्रालयका प्रवक्ता आइगर कोनाशेनकोभकले स्थानीय मिडियालाई बताएअनुसार दोनेत्स्क र लुहान्स्कमा रुसी सेनाको विशेष अपरेशनमा युक्रेनी सेनाले बाधा पारिरहेको छ । उनले यी दुवै क्षेत्रमा युक्रेनी सेनाको जवाफी कारवाहीले रुसको कठिनाइ बढाइदिएको स्वीकार गरेका छन् । लुहान्स्क र दोनेत्स्कमा खास सफलता नपाएपछि अब क्रिमियाको बाटो भएर किभमा जाने तयारी भइरहेको छ ।

युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेशनको दावी अनुसार दुश्मन (रुस) मा डर फैलिइरहेको छ र उसले अब सैन्य अभ्यासको आडमा गुप्त लामबन्दी गर्न सुरु गरेको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारले पनि आफ्नो रिपोर्टमा रुसी सेना उत्तरबाट क्रिमियाको बाटो जेपोरिजियातिर बढिरहेको बताएको छ । रिपोर्टमा रुसी सेनाले क्रिमियाबाट जेपोरिजियातिर उत्तरमा आफ्नो अपरेशनलाई प्राथमिकता दिइरहेको देखिएको उल्लेख छ ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । पहिलो दिन नै रुसले किभमा बमबारी गरेको थियो । विशेषज्ञले यो लडाइ धेरै लामो नचल्ने मानेका छन् तर दुई हप्ता बितिसक्दा पनि किभमा कब्जाको लडाइ जारी छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको रिपोर्टअनुसार रुसी सेना किभलाई चारैतिरबाट घेर्ने रणनीति अपनाइरहेको छ । रुसी सेनाले किभलाई उत्तर–पश्चिम, पश्चिम र पूर्वतिरबाट घेरेको छ ।

युक्रेनले उत्तर पश्चिमी किभको आसपासको क्षेत्रमा रुसी मेसिनरीलाई ठूलो नोक्सानी भएको दावी गरेको छ । इरपिनका मेयरले रुसी सेनाले इरपिन आसपासका सहरहरु बुचा र होस्तोलेमेलमा कब्जा गरेको बताएका छन् । इरपिन किभबाट मात्रै २० किलोमिटर दूरीमा छ । युक्रेनको जनरल स्टाफले पनि रुसी सेनाको २९ औं, ३५ औं र ३६ औं कम्बाइन्ड आर्म्स आर्मी, एयरबोर्न ट्रुप्स र नेवल इन्फेन्ट्रीले किभलाई घेर्ने तयारी गरिरहेको बताएको छ ।

जसरी रुसको सेनाले किभलाई चारैतिरबाट घेरेको छ यसबाट ‘निर्णायक’ युद्धको तयारी भइरहेको अनुमान गरिएको छ । इन्स्टिच्युट फर द स्टडिज अफ वारको रिपोर्टअनुसार रुसको सेना बाइसिभमा सक्रिय छ जो किभ सिटी सेन्टरबाट ५० किलोमिटर दक्षिण पश्चिममा छ ।

रुसी सेनाले इभानकिभमा पनि अपरेशन तीब्र पारेको छ जो किभबाट ७० किलोमिटर टाढा छ । रुसले ७ मार्चमा किभको उत्तर पश्चिममा ३० किलोमिटर टाढाको राकिभ्कामा आक्रमण गरेको थियो । रुसी सेनाको ९८ औं एयरबोर्न डिभिजन र ४५ औं गार्डस स्पेत्सनाज ब्रिगेड पनि किभबाट ४० किलोमिटरको दूरीमा निप्रो नदी नजिकै डायमरमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *