नेपाली बजारमा पेट्रोलियमको मूल्य भारी मात्रामा घट्न सक्ने, रुसले दियो यस्तो अफर

डिसी नेपाल
२६ फागुन २०७८ १२:३४

काठमाडौं। युक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र युरोपेली देशहरुले रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् । एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेद आयातमा समेत प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धबाट समस्यामा परेको रुसका तेल कम्पनीहरुले भारतलाई तेलमा भारी छुट दिने अफर गरेका छन् । बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसका तेल कम्पनीहरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन् ।

रुसी तेल कम्पनीहरुको यो अफरको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।

भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा युक्रेन आक्रमणको मुद्दामा रुसको निन्दा वा रुसविरुद्ध मतदान गरेको छैन । यस्तोमा रुसी कम्पनीहरुले भारतीय बजारलाई प्राथमितामा राखेका छन् । पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्वपूर्ण बजार बनेको छ ।

युक्रेन आक्रमणका कारण रुसका कैयौं बैंकहरुलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली ‘स्विफ्ट’बाट हटाइएको छ जसले रुसलाई अन्य देशहरुसँग व्यापार गर्न कठिनाइ भइरहेको छ । रुसको सरकार यो समस्याबाट बाहिर निस्किनको लागि नयाँ भुक्तानी प्रणाली निर्माण गर्ने काममा जुटेको छ । रुसले नयाँ भुक्तानी प्रणाली विकास गरेर आफ्ना साझेदार देशहरुलाई जोडेको अवस्थामा भारत पनि यो प्रणालीमा जोडिनेछ र रुसको भारतसँग व्यापार बढ्नेछ । यो व्यापारमा ठूलो हिस्सा तेलले ओगट्नेछ किनकि रुस विश्वका सबैभन्दा ठूला तेल निर्यातक मध्ये एक हो । रुसले प्रतिदिन ७ मिलियन ब्यारल तेल निर्यात गर्छ ।

रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोसनेफ्टबाट भारतले अधिक मात्रामा कच्चा तेल किन्छ । गएको डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आएका बेला रोसनेफ्ट र इण्डियन आयलले २०२२ को अन्त्यसम्म नोभोरोस्सिएस्क बन्दरगाहमार्फत भारतलाई २ करोड टनसम्म तेल आपूर्ति गर्ने एक सम्झौतामा हस्ताक्षर गरेका थिए । भारत तेल खरिदका लागि मध्यपूर्वमा अधिक निर्भर छ तर पछिल्लो समय भारत अमेरिका र रुसजस्ता देशबाट तेल खरिद बढाउने प्रयासमा छ ताकि तेल खरिदमा विविधता आओस् ।

बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसी तेल कम्पनीहरुले ब्रेन्ट क्रुड आयलको पुरानो मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट दिन तयार छन् । रुसी तेल कम्पनीहरुले भारी छुटको अफर गरेको संकेत दिँदै एक सूत्रले भनेको छ ‘प्रस्ताव आकर्षक छ । यद्यपि अहिलेसम्म तेल खरिदको भुक्तानी कसरी गर्ने भन्ने प्रस्ट छैन ।’ यद्यपि यो पनि भनिएको छ कि प्रतिबन्धको बीच रुससँग व्यापार सुरु गर्नुभन्दा पहिले भारत निकै सतर्क रहनुपर्छ । युक्रेनमा आक्रमणको बीच रुससँग तेल किन्दा यसले अन्य कैयौं देशहरुलाई रुष्ट बनाउन सक्छ किनकि ती देशहरुले यसलाई रुसलाई आर्थिक सहयोग गरेको रुपमा पनि हेर्न सक्छन् ।

निजी बैंकका एक प्रमुख कार्यकारीले बिजनेस स्ट्याण्डर्डसँग कुरा गर्दै भने ‘यो रुसको समस्या हो कि ऊ आफ्नो उत्पादन बेच्न सक्षम छैन । युद्धका कारण कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारलबाट बढेर ११५ डलर प्रतिब्यारल पुगेको छ जसका कारण तेल खरिदका लागि भारतले पनि धेरै पैसा दिनु परिरहेको छ । हामीले तेल आयातको लागि रुसका अलावा अन्य विकल्प पनि खोज्नुपर्छ ।’

ब्लुमबर्गको एक रिपोर्टअनुसार प्रतिबन्ध लगाइनुभन्दा ठिक पहिले नै रुसको कच्चा तेलको मूल्य ११.६० ब्यारलभन्दा तल गएको थियो । यसका बावजुद रुसी कच्चा तेलको लिलामीमा बोली लागेन किनकि रुसमाथि सम्भावित प्रतिबन्धलाई दृष्टिगत गर्दै कोही पनि रुसको तेल किन्न तयार भएनन् ।

रुसका कैयौं बैंकहरुलाई स्विफ्ट बैंकिङ प्रणालीबाट हटाइएपछि रुससँग व्यापार गर्न विश्वका कैयौं देशहरुलाई कठिन भएको छ । भारतको सरकार र भारतीय रिजर्भ बैंक रुसबाट आफ्नो आयातको भुक्तानीको लागि वैकल्पिक बाटो खोजिरहेका छन् । भारतले आफ्ना बैंक र कम्पनीहरुसँग वैकल्पिक बाटोको विषयमा छलफल गरिरहेको छ । बैंकहरुले भारत सरकारलाई व्यापारको लागि भारत र रुसको मुद्रा अर्थात रुपैयाँ रुबल व्यापार खाता सक्रिय गर्ने विकल्प सुझाएका छन् । यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *