यी महिलालाई प्रयोग गरेर रुससँग बदला लिँदै अमेरिका

डिसी नेपाल
२६ फागुन २०७८ १३:४८

काठमाडौं। अमेरिकामा रुसको जासुस भएको आरोप लगाइएकी महिला एलेना ब्रेनसनविरुद्ध सुनुवाइ तीब्र पारिएको छ । यो सबै रुस र युक्रेनको लडाइँको बीचमा भइरहेको छ । यस्तोमा तीन देशबीचको खिचातानीको असर एलेनामाथि परेको मानिएको छ । एलेनाले आफूले रुसको लागि कुनै जासुसी नगरेको भन्दै आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आइरहेकी छिन् ।

मंगलबार संघीय अभियोजकले उनीमाथि रुसको लागि जासुसी गरेको आरोप लगाएको एनबीसी न्यूजले जनाएको छ । एलेनामाथि भिसा फ्रड र एफबीआइलाई झुटो बयान दिएको आरोप छ । अभियोजकले एलेनामाथि २०२० मा जाँचको बीचमै रुस भागेको आरोप समेत लगाएका छन् । अमेरिकामा लगाइएका आरोपअनुसार एलेनाले २०११ देखि रुसी एजेन्टको रुपमा काम गरिरहेकी छिन् ।

यी आरोपहरु एलेनामाथि अहिले निकै बलियो तरिकाले उठाइएका छन् जतिबेला रुसले युक्रेनमाथि आक्रमण गरेको छ । यतिबेला अमेरिकाले रुसलाई सजाय दिनको लागि हरेक मोर्चा खोलेको छ । अभियोजकका अनुसार २०२० मा एफबीआइले एलेनासँग सोधपुछ गरेको थियो । त्यतिबेला उनले रुसी अधिकारीको तर्फबाट कहिल्यै पनि अमेरिकी व्यवसायी, राजनेता र रुसी अधिकारीबीच बैठक गराउने प्रयास नगरेको बताएकी थिइन्, जुन झुटो थियो ।

२०२० मा एफबीआइले ब्रेनसेनको संस्थाको कार्यालयमा छापा मारेको थियो र यसको एक महिनापछि उनी रुस गएकी थिइन् । त्यसपछि उनले रुसको सरकारी मिडिया रसिया टुडेलाई दिएको अन्तरवार्तामा भनेकी थिइन् ‘म निकै डराएकी थिएँ त्यसैले रुस आएँ ।’ एलेना ६१ वर्षकी रुसी अमेरिकी महिला हुन् जसले न्यूयोर्कमा रसियन सेन्टर खोलेर आइ लभ रसिया अभियान चलाउन महत्वपूर्ण भूमिका निभाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *