शेष घलेले फुटाए एनआरएनए, बेग्लै महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पनि अर्कै

डिसी नेपाल
२७ फागुन २०७८ १२:५१
3.7k
Shares

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन भन्दै निर्वाचन समिति गठन गरेका छन्।

संघको संस्थापन पक्षको आधिकारिक प्रक्रियालाई लत्याउदै नेपाली कांग्रेसको एउटापक्षको जोडबलमा संघ बिभाजनको धोषणा घलेले यही कदमले गरेको छ।

गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार भन्दै उनले निर्वाचन समिति पुनर्गठन गरेको र अर्कै महाधिवेशन आयोजक समिति पनि गठन भएको घोषणा गरेका छन्।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएको घले पक्षको दाबी छ।

घलेपक्षको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन्।

घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह-संयोजकमा अर्का उपाध्यक्ष मन केसी छन्।

आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।

घलेपक्षले दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौँमा आयोजना गर्ने बताइएको छ। संस्था फुटाएका घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गरेका छन्।

उनले विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको बताए। उनले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *